समाचार विदेश

ट्रम्पको भ्रमणअघि बेलायतमा अमेरिकी लगानी घोषणा!

ट्रम्पको भ्रमणअघि बेलायतमा अमेरिकी लगानी घोषणा!

अमेरिकी वित्तीय कम्पनीहरूले बेलायतमा ठूलो लगानी गर्ने योजना सार्वजनिक गरेका छन्। पेपल, सिटी ग्रुप, बैंक अफ अमेरिका, ब्ल्याकरोक र एस एन्ड पी ग्लोबललगायतका संस्थाले संयुक्त रूपमा करिब एक अर्ब २५ करोड पाउन्ड (करिब एक अर्ब ७० करोड डलर) लगानी गर्ने घोषणा गरेका हुन्। योजनाअनुसार लन्डन, एडिनबर्ग, बेलफास्ट र म्यानचेस्टरमा करिब एक हजार आठ सय नयाँ रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ।

प्रधानमन्त्री किर स्टार्मरले आइतबार उक्त लगानीलाई स्वागत गर्दै “हाम्रा सहयोगीहरूसँग मिलेर हामी यहाँ रोजगारी सिर्जना गरिरहेका छौँ” भन्नुभयो। उहाँले सामाजिक सञ्जाल एक्समा लेख्दै यो लगानीले बेलायतलाई विश्वव्यापी वित्तीय नेतृत्वमा अझ मजबुत बनाउने दाबी गर्नुभयो।

बैंक अफ अमेरिकाले बेलफास्टमा आफ्नो पहिलो सञ्चालन सुरु गर्दै मात्र एक हजार रोजगारी दिने योजना बनाएको छ। सिटी ग्रुपले भने एक अर्ब १० करोड पाउन्ड लगानी गर्नेछ, जसमा उत्तरी आयरल्यान्ड पनि समावेश हुनेछ। बेलफास्टमै करिब चार हजारभन्दा बढी कर्मचारी भइसकेको सिटी ग्रुप हाल त्यहाँका प्रमुख रोजगारीदातामध्ये एक हो।

एस एन्ड पी ग्लोबलले म्यानचेस्टरस्थित कार्यालयहरूमा ४० लाख पाउन्डभन्दा बढी लगानी गर्ने तयारी गरेको छ, जसले करिब दुई सय नयाँ रोजगारी थप्नेछ। पेपलले उत्पादन आविष्कार र वृद्धि क्षेत्रमा १५ करोड पाउन्ड लगानी गर्नेछ। त्यस्तै, ब्ल्याकरोकले एडिनबर्गमा नयाँ कार्यालय खोलेर युके इन्टरप्राइज डाटा सेन्टरहरूमा ५० करोड पाउन्ड लगानी गर्ने योजना बनाएको छ। कम्पनीले ग्राहकहरूको तर्फबाट अर्को वर्ष मात्रै युके बजारमा सात अर्ब पाउन्ड छुट्याउने अपेक्षा गरिएको छ।

बेलायत सरकारले यी लगानीहरूले विशेषगरी बेलफास्टलाई प्रविधिक पावरहाउसका रूपमा स्थापित गर्न सहयोग गर्ने जनाएको छ।

यो घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको राज्य भ्रमणको केही दिनअघि आएको हो। सन् २०१९ मा महारानी एलिजाबेथ द्वितीयको आमन्त्रणमा भएको भ्रमणपछि यो उहाँको पहिलो राजकीय भ्रमण हो। मङ्गलबारदेखि सुरु हुने भ्रमणअन्तर्गत बुधबार ट्रम्पलाई विन्डसरमा राजा चार्ल्स तृतीय र राजपरिवारले स्वागत गर्ने कार्यक्रम छ भने बिहीबार प्रधानमन्त्री स्टार्मरसँगको भेटले ट्रान्साटलान्टिक आर्थिक सम्बन्धलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ।

घरेलु राजनीतिक दबाबको बीचमा आएको यो लगानी घोषणालाई स्टार्मरले आफ्ना लागि सकारात्मक सन्देशका रूपमा लिएका छन्। हालै राजदूत पिटर म्यान्डेलसनलाई यौन अपराधी जेफ्री एपस्टेनसँगको सम्बन्धका कारण पदमुक्त गर्नुपर्ने र सम्पत्ति करसम्बन्धी विवादमा आफ्ना निकट सहयोगी गुमाउनु परेको स्थितिमा यो उपलब्धिलाई सरकारको लागि महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ।