आन्दोलनको नाममा एनसेल कार्यालय लुटपाटः कर्मचारीका गरगहना समेत चोरिए!

काठमाडौं, ५ असोज — हालैको आन्दोलनका क्रममा अवसर खोज्दै आएका विभिन्न समूहहरूले एनसेलका कार्यालयहरूमा आगजनी र डकैती गरेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार २०८२ भदौ २४ गते काठमाडौंँको लैनचौरस्थित ‘एनसेल आइकन’ मुख्यालयसहित महेन्द्रनगर, धनगढी र पोखरास्थित क्षेत्रीय कार्यालयहरूमा ठुलो मात्रामा क्षति पुर्याउने गतिविधि भएका छन्।
सो दिन कार्यालयभित्र रहेका मूल प्रमाणपत्र, जग्गाधनी प्रमाणपुर्जा, नगद, सेफ र अन्य कागजात जलाइएका वा लुटिएको एनसेलले जनाएको छ। साथै ल्यापटप, टेलिभिजन, विद्युतिय उपकरण, कर्मचारीका व्यक्तिगत सामान र गरगहना समेत चोरी भएको कम्पनीको भनाइ छ।
एनसेलले तोडफोड, आगजनी र डकैतीका घटनाबारे आवश्यक अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय काठमाडौंँमा उजुरी दर्ता गरेको छ। उजुरीसँगै सिसिटिभी फुटेजसमेत बुझाइएको कम्पनीले जनाएको छ।
कम्पनीले महेन्द्रनगर, धनगढी र पोखरास्थित क्षेत्रीय कार्यालयहरूबाट हराएका वा प्राप्त भएका उपकरण तथा सामान तुरुन्त नजिकैको प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको छ। “नत्र कानुन बमोजिम कारबाही हुनेछ,” एनसेलले जारी गरेको सूचनामा उल्लेख छ।