समाचार शेयर

आजदेखि खुल्दै सेयर बजार!

आजदेखि खुल्दै सेयर बजार!

काठमाडौंस्थित पूँजी बजार आजदेखि लामो अवरोधपछि पुनः सञ्चालनमा आउने भएको छ। जेनजी आन्दोलनका कारण भदौ २४ गतेदेखि सेयर कारोबार रोकिएको थियो। नेपाल धितोपत्र बोर्डले भदौ ३१ गते नेप्सेलाई नियमित कारोबार सुरु गर्न निर्देशन दिएको भए पनि असोज १ गते सरकारले सहिदको सम्मानमा राष्ट्रिय शोक दिवस घोषणा गरेपछि कारोबार खुल्न सकेन।

नेप्सेले जारी गरेको सूचना अनुसार आजदेखि कारोबार सुचारु हुने छ। यसअघि भदौ २३ गतेको अन्तिम कारोबारमा नेप्से परिसूचक १.३२ प्रतिशत अर्थात् ३५.९९ अंकले घटेर २,६७२.२५ विन्दुमा पुगेको थियो। बजार बन्द भएपछि ठूला र साना सबै किसिमका लगानीकर्ताले आर्थिक घाटा व्यहोरेका छन्। विशेषगरी दैनिक कारोबारमा निर्भर रहने ट्रेडरहरू प्रत्यक्ष प्रभावित भएका छन्।

बजार पुनः खुलेसँगै लगानीकर्तामा उत्साह देखिए पनि अन्यौल उस्तै छ। कतिपय नयाँ तथा साना लगानीकर्तामा बजार फेरि ओरालो लाग्ने भय अझै कायम छ। लगानीकर्ताले लगातार दबाब दिँदै बजार सञ्चालन गर्नुपर्ने माग गर्दै आएका थिए।

अब बजार खुल्दा सूचक र कारोबार प्रवाह कुन दिशामा जान्छ भन्ने प्रश्नले लगानीकर्तालाई अझै तनावपूर्ण अवस्थामा राखेको छ। नियमित कारोबारले फेरि विश्वास बहाली गर्न सक्ने वा थप अनिश्चितता सिर्जना गर्ने भन्ने कुराले बजारको आगामी दिनलाई परीक्षणको मैदान बनाएको छ।