समाचार विदेश

अब बोलिभियामा बालविवाह पूर्ण प्रतिबन्ध!

अब बोलिभियामा बालविवाह पूर्ण प्रतिबन्ध!

बोलिभियाको संसद्ले बुधबार नाबालिगसँग हुने विवाह र नागरिक सङ्घलाई पूर्णतया प्रतिबन्ध लगाउने कानुन पारित गरेको छ। यससँगै बोलिभिया बालविवाह गैरकानुनी घोषित गरिसकेका ल्याटिन अमेरिकी १३ देशहरूको सूचीमा थपिएको छ।

यसअघि सन् २०१४ मा लागू गरिएको कानुनले वयस्कलाई मात्र विवाहको अनुमति दिइए पनि १६ र १७ वर्षका किशोर–किशोरीलाई अभिभावकको सहमति भए विवाह गर्न सक्ने अपवाद रहेको थियो। ओम्बुड्सम्यान कार्यालयका तथ्याङ्कअनुसार सन् २०१४ देखि २०२३ बीचमा चार हजार आठ सयभन्दा बढी नाबालिग युनियन दर्ता भएका थिए।

यस अपवादलाई अन्त्य गर्दै चेम्बर अफ डेपुटिसले पारित गरेको संशोधन विधेयक यस वर्ष अप्रिलमै सिनेटले स्वीकृत गरिसकेको हो। अब यो राष्ट्रपतिसमक्ष अनुमोदनका लागि पठाइनेछ। विधेयककी लेखक तथा सत्तारूढ पार्टीकी सिनेटर भर्जिनिया भेलास्कोले यसलाई “सिर्फ कानुन नभई किशोरीलाई जबरजस्ती विवाह, विद्यालय छोड्न वा असमय जिम्मेवारी लिन बाध्य पार्ने परम्परा अन्त्य गर्ने प्रतिज्ञा” भनेर व्याख्या गरेकी छन्।

नयाँ कानुनअनुसार नाबालिगसँग विवाह दर्ता गर्ने अधिकारीमाथि मुद्दा चलाइनेछ र दोषी ठहरिएमा चार वर्षसम्म कैद सजाय हुने व्यवस्था गरिएको छ। एडभोकेसी संस्था सेभ द चिल्ड्रेनले सन् २०१४ मा मात्र १५ वर्ष नपुग्दै विवाहमा बाँधिएका बोलिभियाली किशोरीहरूको सङ्ख्या ३२ हजारभन्दा बढी रहेको तथ्याङ्क सार्वजनिक गरेको थियो।

संयुक्त राष्ट्र संघीय निकाय ल्याटिन अमेरिका तथा क्यारिबियनका लागि आर्थिक आयोगका अनुसार कोलम्बिया, पेरु, इक्वेडर र एल साल्भाडोरसहित १३ देशले बालविवाह प्रतिबन्धित गरिसकेका छन्। बोलिभियाको यो कदमलाई क्षेत्रीय स्तरमा बालविवाह अन्त्यतर्फको महत्वपूर्ण प्रगति मानिएको छ।