समाचार

लक्ष्मी टेक्नोप्लास्टले तीन महिनासम्मको १% बिक्री रकम पुनर्निर्माणमा दिने घोषणा!

लक्ष्मी टेक्नोप्लास्टले तीन महिनासम्मको १% बिक्री रकम पुनर्निर्माणमा दिने घोषणा!

हालैको आन्दोलनका कारण भौतिक संरचनामा भएको क्षति पुनर्निर्माणका लागि निजी क्षेत्रबाट सहयोग जुट्न थालेको छ। ओम श्रविम पाइप्स एण्ड फिटिङ्स र मेरीगोल्ड फर्निचर अन्तर्गतको लक्ष्मी टेक्नोप्लास्ट लिमिटेडले आगामी तीन महिनासम्म आफ्नो कुल बिक्री रकमको एक प्रतिशत राष्ट्र पुनर्निर्माणमा दिने निर्णय गरेको जनाएको छ।

कम्पनीका अनुसार यो प्रतिबद्धतालाई राष्ट्रिय जिम्मेवारी र ऐतिहासिक योगदानको रूपमा लिन सकिन्छ। “हाम्रा संरचना हामी आफैं बनाउँछौं” भन्ने राष्ट्रिय नारासँग मेल खाने गरी बिक्रीबाट उठ्ने रकमको एक अंश क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा खर्च गर्ने योजना अघि सारिएको छ। यस पहलले आत्मनिर्भरता, एकता र सकारात्मक ऊर्जा प्रवर्द्धन गर्ने कम्पनीको विश्वास छ।

लक्ष्मी टेक्नोप्लास्टका प्रबन्ध निर्देशक अञ्जनी नन्दन मारुले भने, “यो हाम्रो देश हो, यसको सम्पत्ति र संरचना हाम्रो गौरव हो। हामी पुनर्निर्माणका हरेक प्रयासमा पूर्ण समर्पणसहित अघि बढ्न तयार छौं। यही हाम्रो दायित्व र प्रतिबद्धता हो।”

निकट भविष्यमा सर्वसाधारणका लागि शेयर निष्कासन गर्ने तयारीमा रहेको कम्पनीले यस कदममार्फत आफ्नो सामाजिक उत्तरदायित्वलाई अझ सुदृढ बनाएको दाबी गरेको छ। यस्ता पहलहरूले निजी क्षेत्रलाई पुनर्निर्माण प्रक्रियामा सक्रिय सहभागीका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।