मोरङमा बेवारिसे कारबाट ५३८ केजी गाँजा बरामद, प्रहरीले अनुसन्धान तीव्र पारे!

मोरङ प्रहरीले विराटनगर महानगरपालिका–८ को हाटखोलाबाट ठूलो परिमाणको गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गत असोज २ गते राति करिब ८:४० बजे शंका लागेर जाँच गरिएको प्रदेश १–०२–००१ च १६६६ नम्बरको सिल्भर रङको कारबाट ५३८ केजी गाँजा फेला परेको हो।
प्रहरी नायव उपरीक्षक हस्त बहादुर सुनारले दिएको जानकारीअनुसार उक्त गाँजा कारमै लोड गरेर राखिएको अवस्थामा भेटिएको थियो। कार भने घटनास्थलमा बेवारिसे अवस्थामा फेला परेको उनले स्पष्ट पारे।
बरामद गरिएको गाँजा र गाडीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ। यसै क्रममा घटनामा संलग्न हुन सक्ने चालक तथा अन्य व्यक्तिहरूको खोजी कार्य पनि जारी रहेको प्रहरी कार्यालयले जनाएको छ।
यो घटनाले सीमावर्ती क्षेत्रमा बढ्दो लागुऔषध कारोबारप्रति पुनः ध्यान खिचेको छ। अनुसन्धानको निष्कर्षले प्रदेशमा लागुऔषध नियन्त्रण र अपराध रोकथामका उपायलाई अझ कडाइका साथ कार्यान्वयन गर्ने अपेक्षा बढाएको छ।