समाचार राजनीति

६ महिनाभित्र चुनाव नगरे संविधान संकट गहिरिन्छ:राष्ट्रपति रामचन्द्र पौडेल

६ महिनाभित्र चुनाव नगरे संविधान संकट गहिरिन्छ:राष्ट्रपति रामचन्द्र पौडेल

संविधान दिवसका अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकलाई हालको राजनीतिक जटिलताबाट निकाल्न सबै दल र राज्यका निकाय एकताबद्ध हुनुपर्ने आह्वान गरेका छन्। प्रतिनिधिसभाबाट सरकार गठन गर्ने कुनै उपाय नदेखिएपछि आम सहमतिमा अन्तरिम सरकार बनेको उनले स्मरण गर्दै अबको मुख्य कार्य ६ महिनाभित्र निर्वाचन सम्पन्न गर्नु भएको स्पष्ट गरे।

राष्ट्रपति पौडेलले संवैधानिक संकटपछि बनेको यो सहमति लोकतान्त्रिक मूल्य र प्रक्रियाको जगेर्ना गर्ने अवसर भएको बताए। उनले भने, “हामी संवैधानिक विकासको इतिहासमै सबैभन्दा बलियो अवस्थामा छौं। यही उपलब्धिलाई रक्षा गर्नु हाम्रो दायित्व हो।” उनका अनुसार संविधानले सर्वसाधारणलाई स्वतन्त्रता, समान अधिकार र सहअस्तित्वको आधार दिएको छ।

२०१७ सालको आन्दोलनदेखि राजनीति यात्रा सुरु गरेको अनुभव उल्लेख गर्दै पौडेलले भदौ २४ पछि उत्पन्न अप्ठ्यारो अवस्थालाई सबैको सुझबुझले टारिएको बताए। उनले लोकतन्त्र, सुशासन र निष्ठालाई केन्द्रमा राखी राजनीति अघि बढाउन सबैलाई सङ्कल्प गर्न आग्रह गरे।

दुई दिनका प्रदर्शनमा भएको मानवीय क्षति र जनधनको नोक्सानीप्रति संवेदना व्यक्त गर्दै उनले विशेषगरी युवाको बलिदानप्रति सम्मान प्रकट गरे। सडकमा उतरेका ती युवाले देशमा सुधार र उज्यालो भविष्य खोजेको भन्दै त्यसलाई गम्भीरतापूर्वक आत्मसात् गर्नुपर्ने उनको भनाइ थियो।

पौडेलले नेपालको सांस्कृतिक, प्राकृतिक र भौगोलिक विविधतामा अपार सम्भावना रहेको बताउँदै समावेशी विकास, समान पहुँच र सामाजिक सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याए। संविधानले मार्गदर्शन गरेको समाजवाद उन्मुख अर्थतन्त्रको लक्ष्य पूरा गर्न रोजगारी सिर्जना, सुशासन र वातावरणीय दिगोपनलाई जोड दिनुपर्ने उनले स्पष्ट पारे।

उनले जेन्जी पुस्ताले उठाएको भ्रष्टाचारविरुद्धको मागलाई सत्ता र राजनीतिले आत्मसात् गर्नुपर्नेमा जोड दिँदै राजनीतिक दल, बौद्धिक समुदाय र आम नागरिक सबै मिलेर संविधानलाई जीवन्त र भविष्यमुखी बनाउन अग्रसर हुनुपर्ने बताए। राष्ट्रपति पौडेलले अन्तरिम सरकारबाट ६ महिनाभित्र हुने निर्वाचनले नयाँ जनादेशमार्फत मुलुकको बाटो तय गर्ने विश्वास व्यक्त गर्दै मित्र राष्ट्रहरूसँग निरन्तर सहयोगको अपेक्षा पनि गरे।

उनको भनाइमा, “संविधान दिवस आज केवल उत्सव मात्र होइन, सुधार, प्रतिबद्धता र नयाँ यात्राको सङ्केत पनि हो।”