समाचार राजनीति

राष्ट्रपति पौडेलको निम्ता अस्वीकार? बालेन, ओली र देउवाको अनुपस्थितिले नयाँ राजनीतिक तरंग!

राष्ट्रपति पौडेलको निम्ता अस्वीकार? बालेन, ओली र देउवाको अनुपस्थितिले नयाँ राजनीतिक तरंग!

राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसको अवसरमा शीतल निवासमा आयोजना गरेको चियापान कार्यक्रममा देशका प्रमुख राजनीतिक, संवैधानिक र कूटनीतिक हस्तीहरू भेला भए। तर, केही महत्वपूर्ण अनुहारहरूको अनुपस्थिति पनि प्रष्ट देखियो।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह अनुपस्थित भए भने एमाले अध्यक्ष केपी शर्मा ओली सुरक्षासम्बन्धी कारण देखाउँदै आएका छैनन्। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा उपचाररत रहेकाले सहभागी हुन सकेनन्, उनकी पत्नी आरजु राणासमेत अनुपस्थित रहिन्।

प्रधानमन्त्री सुशीला कार्की तीनै मन्त्रीसहित उपस्थित थिइन्। गणतन्त्र नेपालका पहिलो राष्ट्रपति डा. रामवरण यादव, पूर्वराष्ट्रपति विद्या भण्डारी, र पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल र डा. बाबुराम भट्टराई पनि कार्यक्रममा देखिए।

त्यस्तै, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, प्रतिनिधिसभा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल र कूटनीतिक नियोगका प्रमुखहरू पनि सहभागी भए। जेनजी आन्दोलनका अगुवा ‘हामी नेपाल’ का अध्यक्ष सुदन गुरुङ र रास्वपाका नेता शिशिर खनाल पनि उपस्थित देखिएका थिए।

राष्ट्रपति पौडेलले छोटकरी सम्बोधन गरेपछि चियापान सुरु भएको जनाइएको छ। संविधान दिवसका अवसरमा यसरी राजनीतिक रंग, विचार र भूमिकामा भिन्नता राख्ने शीर्ष नेताहरू एकै छानामुनि देखिनु वर्तमान सन्दर्भमा प्रतीकात्मक मानिएको छ, तर अनुपस्थितिहरूले सत्ता र सडक दुवैतर्फको दूरीलाई झल्काएको छ।