सार्वजनिक यातायातलाई नागढुंगा–सिस्नेरी सुरुङमार्ग प्रयोग गर्ने व्यवस्था मिलाउन मन्त्री घिसिङको निर्देशन!

काठमाडौं उपत्यकाबाट बाहिरिने सार्वजनिक यातायातलाई नागढुंगा–सिस्नेरी सुरुङमार्ग प्रयोग गर्न दिने निर्णय भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले गरेका छन्। शनिबार मन्त्रालयमा सचिव, विभागीय प्रमुख, नेपाल प्रहरी तथा यातायात व्यवसायी महासङ्घका पदाधिकारीसँगको छलफलपछि मन्त्रीले यस्तो व्यवस्था मिलाउन निर्देशन दिएका हुन्।
मन्त्रालयको निर्णय अनुसार यात्रुवाहक सार्वजनिक सवारी साधनहरू सुरुङमार्गमार्फत उपत्यकाबाट बाहिरिनेछन्। दसैंपछि भने ती सवारीलाई सुरुङमार्गमार्फत उपत्यकामा भित्र्याउनेबारे पनि सम्बन्धित निकायसँग छलफल गर्ने उल्लेख छ।
छलफलमा सहभागी यातायात व्यवसायीहरूले हालको भौगोलिक र मौसमीय चुनौतीलाई उठाएका थिए। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँर र वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले पहिरो र बाढीले यात्रा जोखिमपूर्ण भएकाले रात्रिबसलाई दिउँसो सञ्चालन गर्नुपर्ने माग राखेका थिए।
मन्त्री घिसिङले सहभागीहरूको सुझाव सुन्दै आवश्यक नीतिगत व्यवस्था गर्न प्रतिबद्धता जनाएका छन्। दशैं नजिकिँदै गर्दा यात्रुवाहक बसको सुरक्षात्मक व्यवस्थापन र समयमै गन्तव्य पुग्ने अपेक्षा झन् बढेको छ, जसले सुरुङमार्गको उपयोगलाई अझ महत्त्वपूर्ण बनाइरहेको छ।