समाचार राजनीति

जेनजी विद्रोहपछि कांग्रेसमा ‘गगन लहर’: नेतृत्व हस्तान्तरणले पुरानो राजनीति हल्लाउने संकेत!

जेनजी विद्रोहपछि कांग्रेसमा ‘गगन लहर’: नेतृत्व हस्तान्तरणले पुरानो राजनीति हल्लाउने संकेत!

जेनजी विद्रोहपछि नेपाली राजनीतिमा उठेको धुलो अझै थामिन सकेको छैन। तर यो आन्दोलनले परम्परागत दलहरू, विशेषगरी एमाले र माओवादीमा अपेक्षित पुस्तान्तरणको बहस जन्माउन सकेन। यी दलहरू विद्रोहको प्रतिक्रियामा सीमित रहे। तर नेपाली कांग्रेस भने केही फरक मोडमा प्रवेश गरेको देखिन्छ। पार्टीको कार्य सम्पादन समितिको बैठकमा महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले नेतृत्व हस्तान्तरण वा पुनर्गठनको मुद्दा औपचारिक रूपमा टेबलमा राखे। उनीहरूले अर्ली महाधिवेशनमार्फत युवा पुस्तालाई अगाडि ल्याउने सम्भावना समेत संकेत गरे।

यद्यपि उपसभापति लगायतका वरिष्ठ पूर्वपदाधिकारीहरूले यसमा तत्काल सहमति जनाएका छैनन्। तर यो बहसले कांग्रेसभित्र गगन थापाको भूमिका अझै स्पष्ट र स्थापित बनाउन सक्ने अवसर भने दिएको छ। समकालीन नेपाली राजनीतिमा नयाँ पुस्ताको प्रतिनिधि स्वरूप उदाएका थापा लामो समयदेखि स्वास्थ्य र सुशासनको एजेन्डामा जोड दिँदै आएका छन्। उनी नेतृत्वमा अगाडि बढे मुलुकको राजनीतिक संस्कृतिमा नीतिगत र व्यवहारिक परिवर्तन सम्भव देखिन्छ।

दशकौँदेखि वंशवाद र सत्तामुखी गुटबन्दीले जकडिएको राजनीतिलाई उनले पारदर्शिता र सहभागितामूलक प्रक्रियामा लैजान सक्ने संकेत दिएका छन्। थापाको प्राथमिकता स्वास्थ्य, शिक्षा, रोजगारी सिर्जना र सुशासनमा केन्द्रित छ। विशेषगरी युवाको पलायन रोकेर रोजगारी सिर्जना गर्ने र शिक्षा प्रणालीलाई व्यवहारिक बनाउनुपर्ने उनको दृष्टिकोणले नागरिक–केन्द्रित नीति निर्माणमा नयाँ ऊर्जा भर्न सक्छ।

आन्तरिक दल व्यवस्थापनतर्फ पनि उनी स्पष्ट बोल्ने र प्रतिस्पर्धात्मक लोकतन्त्रलाई मजबुत पार्ने नेताको रूपमा चिनिन्छन्। यसले कांग्रेसभित्रै लोकतान्त्रिक अभ्यासलाई संस्थागत गर्ने संभावना बढाउँछ। साथै, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धमा आत्मनिर्भरता र व्यावहारिकताको पक्षमा उभिने सम्भावना पनि उनको नेतृत्वसँग जोडिएको छ।

जेनजी आन्दोलनले तत्कालीन सन्दर्भमा कांग्रेसलाई दबाबमा राखे पनि यसले गगन थापाका लागि नयाँ राजनीतिक अवसर खोलेको विश्लेषण हुँदैछ। रास्वपाभित्र देखिएको विचलन र सभापति रवि लामिछानेविरुद्ध उठेका प्रश्नहरूले पनि उनलाई लाभ दिने सम्भावना छ। विशेषगरी आगामी फागुन २१ मा तोकिएको उपनिर्वाचनमा काठमाडौं–४ मा उनको सम्भावित उदयलाई थप बल प्रदान गरेको बताइन्छ।

पुस्तान्तरणमा अघि बढ्ने कांग्रेसभित्रको यो बहस केवल थापाको भविष्यसँग मात्र नभई नेपाली राजनीतिमा नयाँ पुस्ताको प्रवेश, पुराना अभ्यासको अन्त्य र नागरिकलाई राजनीतिप्रति पुनः आस्था जगाउने संकेतका रूपमा पनि देख्न सकिन्छ।