फिचले इटालीको ऋण रेटिङ ‘बिबीबी’ बाट ‘बिबीबी प्लस’ मा उकास्यो!

इटालीको ऋण मूल्याङ्कन सुधार भएको घोषणालाई प्रधानमन्त्री जर्जिया मेलोनीले आफ्नो सरकारको आर्थिक अनुशासनको प्रमाणका रूपमा स्वागत गर्नुभएको छ। अन्तर्राष्ट्रिय संस्था ‘फिच रेटिङ्स’ ले इटालीको दीर्घकालीन ऋण रेटिङलाई ‘बिबीबी’ बाट ‘बिबीबी प्लस’ मा उकास्दै आउँदो दिनका लागि स्थिर रहेको मूल्याङ्कन सार्वजनिक गरेको हो।
विश्वका प्रतिष्ठित क्रेडिट रेटिङ एजेन्सीमध्ये एक मानिने फिचले यस निर्णयमा इटालीको आर्थिक मार्गप्रतिको विश्वसनीयता र सरकारको प्रतिबद्धतालाई आधार मानेको बताएको छ। प्रधानमन्त्री मेलोनीले भनिन्, “यो मान्यता हाम्रो आर्थिक नीति सही दिशामा अघि बढिरहेको स्पष्ट संकेत हो।”
गत केही वर्षयता इटालीले सार्वजनिक खर्च घाटा उल्लेखनीय रूपमा घटाउन सफल भएको छ। तथ्याङ्कअनुसार, घाटा ७.२ प्रतिशतबाट झरेर ३.४ प्रतिशतमा पुगेको छ। फिचले राजनीतिक स्थिरता र विश्वासिलो नीतिलाई पनि रेटिङ सुधारका प्रमुख आधारका रूपमा औंल्याएको छ।
अर्थमन्त्री जियानकार्लो जिओर्जेटीले पनि देशलाई सही बाटोमा अघि बढाउन सरकार सफल भएको दाबी गर्दै सुधारलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो। तर चुनौतीहरू अझै कायम छन्। २०२३ र २०२४ मा आर्थिक वृद्धिदर अपेक्षाभन्दा न्यून भई ०.७ प्रतिशतमा सीमित भएको छ भने अत्यधिक ऋण भार दीर्घकालीन विकासका लागि दबाब रहँदै आएको छ।
यद्यपि, मेलोनी सरकारको अडान छ—राजनीतिक स्थिरता, रोजगारी सिर्जना र अनुशासित खर्च नीतिबाट इटालीलाई अझ बलियो अर्थतन्त्रतर्फ अघि बढाउन सकिन्छ। यसले अन्तर्राष्ट्रिय बजारमा इटालीप्रतिको विश्वासलाई मजबुत बनाएको देखिन्छ।