६ महिनामै चुनाव! राष्ट्रपति पौडेलको कडा आह्वान, सबै दल र नागरिकलाई चेतावनी!

राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसको अवसरमा सम्बोधन गर्दै आगामी छ महिनाभित्र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न सबै सरोकारवालालाई जिम्मेवारीपूर्वक अघि बढ्न आह्वान गर्नुभएको छ। उहाँले निर्वाचनलाई मात्र नभई लोकतन्त्रलाई संस्थागत गर्ने अवसरका रूपमा लिनुपर्ने बताउनुभयो।
शुक्रबार राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले अघिल्लो प्रतिनिधिसभा विघटनपछि सरकारले आगामी फागुन २१ गते नयाँ निर्वाचन गर्ने निर्णय गरिसकेको तथ्य स्मरण गराउँदै यसलाई सफल बनाउन राजनीतिक दल, सरकारी निकाय, बौद्धिक वर्ग र आम नागरिक सबै एकजुट हुनुपर्ने धारणा राख्नुभयो। उहाँले भन्नुभयो, “यो संविधानले नेपाली जनतालाई सार्वभौमसत्ता, स्वतन्त्रता र समान अधिकार दिएको छ। हामी सबैले यसको रक्षा गर्दै साझा भविष्यको बाटो खोल्नुपर्छ।”
पौडेलले आफ्नो राजनीतिक जीवनको प्रारम्भ २०१७ सालमा १७ वर्षकै उमेरमा प्रजातन्त्रको आन्दोलनबाट भएको स्मरण गर्दै अहिले उत्पन्न राजनीतिक रिक्तता सम्हाल्न सबैको सुझबुझ र सहकार्य महत्त्वपूर्ण बनेको स्पष्ट गर्नुभयो। उहाँका अनुसार नवपुस्ताको सहभागिताले लोकतन्त्र अझै सबल बन्दै गएको छ र नयाँ जनादेशले देशको आगामी दिशा निर्धारण गर्नेछ।
समारोहमा उहाँले दुई दिनको विरोध प्रदर्शनले देशले अकल्पनीय मानवीय र भौतिक क्षति बेहोरेको उल्लेख गर्दै पीडित परिवारप्रति संवेदना प्रकट गर्नुभयो। “एक अभिभावकका रूपमा जीवन गुमाएका युवाका आमाबुवाको पीडा म अनुभव गर्न सक्छु,” उहाँले भन्नुभयो।
राष्ट्रपति पौडेलले अन्तरिम सरकारलाई छ महिनाभित्र चुनाव सम्पन्न गरी जनप्रतिनिधिमूलक निकायलाई सत्ता हस्तान्तरण गर्ने मुख्य जिम्मेवारी रहेको बताउनुभयो। साथै, सुशासन, निष्ठा र नैतिकताको आधारमा राजनीति र राज्य सञ्चालन गर्ने प्रतिज्ञा गर्न सबैलाई आग्रह गर्नुभयो। उहाँले लोकतन्त्रलाई अझ जीवन्त र भविष्यमुखी बनाउन मित्रराष्ट्रहरूको निरन्तर सहयोग र सद्भाव अपरिहार्य भएको पनि जोड दिनुभयो।
कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसहित पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री र संवैधानिक पदाधिकारीहरूको उपस्थिति थियो।
राष्ट्रपति पौडेलको भनाइले देशले फेरि नयाँ जनादेशमार्फत लोकतन्त्रलाई सबल र संस्थागत बनाउँदै परिवर्तनका सपनालाई अघि बढाउने दिशातर्फ यात्रा थालेको सन्देश दिएको देखिन्छ।