समाचार अपराध सुरक्षा

युक्रेन युद्धमा उत्तर कोरियाली सेनाको सामूहिक मृत्यु! दुई हजारभन्दा बढी सैनिक मारिएको खुलासा

युक्रेन युद्धमा उत्तर कोरियाली सेनाको सामूहिक मृत्यु! दुई हजारभन्दा बढी सैनिक मारिएको खुलासा

दक्षिण कोरियाको गुप्तचर निकाय नेसनल इन्टेलिजेन्स सर्भिस (एनआइएस) ले युक्रेन युद्धमा सहभागी भएका करिब दुई हजार उत्तर कोरियाली सैनिक मारिएको अनुमान सार्वजनिक गरेको छ। मङ्गलबार सांसद ली सेओङ–क्वेनलाई दिएको जानकारी उद्धृत गर्दै सियोलस्थित पत्रकारहरूले यो तथ्याङ्क सार्वजनिक गरेका हुन्।

एनआइएसले यसअघि गत अप्रिलमा मारिएका उत्तर कोरियाली सैनिकको सङ्ख्या कम्तीमा छ सय रहेको जनाएको थियो। तर पछिल्लो मूल्याङ्कनअनुसार मृतकको सङ्ख्या बढेर करिब दुई हजार पुगेको देखिएको छ।

दक्षिण कोरिया र पश्चिमी गुप्तचर निकायहरूको आकलनअनुसार, सन् २०२४ मा मात्र प्योङयाङले १० हजारभन्दा बढी सैनिक रुस पठाएको छ। तीमध्ये धेरैजसो सैनिक कुस्र्क क्षेत्रमा तैनाथ गरिएका थिए, जहाँ उनीहरूले तोपगोला, क्षेप्यास्त्र र लामो दूरीका रकेट प्रणाली प्रयोग गरेका थिए। सांसद लीका अनुसार प्योङयाङले थप छ हजार सैनिक तथा इन्जिनियर पठाउने योजना बनाएको छ। तीमध्ये करिब एक हजार हालै रुस प्रवेश गरिसकेको एनआइएसले विश्वास गरेको छ।

यसै वर्षको सुरुमा रुसका विदेशमन्त्री सर्गेइ लाभरोभले पनि उत्तर कोरियाले कुस्र्क क्षेत्रमा निर्माणकर्मी र विस्फोटक हटाउने प्राविधिकहरू पठाउने संकेत गरेका थिए। उत्तर कोरियाले अप्रिलमा मात्र आफ्ना सैनिक युक्रेन युद्धमा संलग्न भएको स्वीकार गरेको थियो। त्यससँगै आफ्ना केही सैनिक युद्धमै मारिएको पुष्टि पनि गरेको थियो।

राज्य सञ्चालित उत्तर कोरियाली मिडियाले नेता किम जोङ उनले युद्धमा मारिएका सैनिकका परिवारलाई भेटी संवेदना व्यक्त गरेको र फर्केका सैनिकलाई अँगालोमा बेरेर आँसु झार्दै गरेको दृश्यहरू सार्वजनिक गरेको छ। यस्तै, शहीद सैनिकहरूको तस्बिर अगाडि पदक र फूल राखी श्रद्धाञ्जलि दिने दृश्य पनि प्रचार गरिएको छ।

गत वर्ष राष्ट्रपति भ्लादिमिर पुटिनले प्योङयाङको दुर्लभ भ्रमण गर्ने क्रममा उत्तर कोरिया–रुसबीच आपसी रक्षा खण्डसहितको सैन्य सहयोग सम्झौतामा हस्ताक्षर भएको थियो। त्यसयता दुई देशबीचको सैन्य सहकार्य बढ्दो देखिएको छ।

उत्तर कोरियाली सैनिकको बढ्दो संलग्नताले युद्धको मानवीय मूल्य अझ गहिरिँदै गएको सन्देश दिएको विश्लेषकहरूको टिप्पणी छ। यसले रूस–उत्तर कोरिया सम्बन्ध मात्र होइन, पूर्वी एसियाली सुरक्षा समीकरणलाई समेत दीर्घकालीन प्रश्नमा उभ्याइरहेको छ।