सन नेपाल लाइफ इन्स्योरेन्सले आठौं वार्षिकोत्सव मनाउँदै वित्तीय कोष र सेवा विस्तारको विवरण सार्वजनिक!

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो आठौं वार्षिकोत्सव मनाएको छ। कम्पनीले २०७४ साल असोज ६ गते सामाजिक सेवा दिवसको अवसरमा कारोवार प्रारम्भ गरेको थियो। आठ वर्षको अवधिमा यसले देशभर १४६ कार्यालय, ३६२ कर्मचारी र ४० हजार ९७६ अभिकर्तामार्फत जीवन बीमा सेवा विस्तार गरेको जनाएको छ।
प्रेस विज्ञप्तिअनुसार कम्पनीको चुक्ता पूँजी हाल ५ अर्ब ३ करोड ११ लाख ६४ हजार ४०० रुपैयाँ पुगेको छ। जगेडा कोषमा २ अर्ब २३ करोड २४ लाख रुपैयाँ र जीवन बीमा कोषमा १० अर्ब १० करोड ८८ लाख रुपैयाँ कायम रहेको छ। कम्पनीको नेटवर्थ १५४.३५ रहेको र सो आधारमा जोखिम धारण गर्ने क्षमता बढ्दो अवस्थामा रहेको कम्पनीले उल्लेख गरेको छ।
वार्षिकोत्सवको अवसरमा कम्पनीले नियामक निकाय, सेवाग्राही, अभिकर्ता तथा सरोकारवाला सबैलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ। बीमा सेवा क्षेत्र विस्तार हुँदै गर्दा यस्ता संस्थाहरूको वित्तीय सूचकाङ्क र जोखिम धारण क्षमता मजबुत हुनुले बजारमा स्थायित्व र उपभोक्ता विश्वास दुवै बढाउन सक्ने अपेक्षा गरिएको छ।