समाचार

काठमाडौं महानगरले निजी विद्यालयलाई छात्रवृत्ति विवरण तत्काल बुझाउन आग्रह!

काठमाडौं महानगरले निजी विद्यालयलाई छात्रवृत्ति विवरण तत्काल बुझाउन आग्रह!

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले निजी विद्यालयलाई छात्रवृत्ति विवरण अनिवार्य रूपमा बुझाउन निर्देशन दिएका छन्। उनले विवरण पेश नगर्ने विद्यालयलाई शिक्षा ऐन, २०७५ अनुसार स्वीकृति नै रद्द गरिने चेतावनी दिएका छन्।

बालेनका अनुसार, चालु आर्थिक वर्षमा मात्र २० हजार २८२ विद्यार्थीले करिब २ अर्ब २५ करोड रुपैयाँ बराबरको छात्रवृत्ति पाएका छन्। यसअघि पहिलो वर्ष १३ हजार र दोस्रो वर्ष १९ हजार विद्यार्थीले छात्रवृत्ति प्राप्त गरेको तथ्याङ्क उनले प्रस्तुत गरेका थिए।

हालसम्म ४४० विद्यालयले छात्रवृत्ति विवरण बुझाइसके पनि अझै केही विद्यालयले विवरण नबुझाएको उनले बताएका छन्। “विवरण नदिने विद्यालयलाई बन्द विद्यालयका रूपमा बुझिनेछ,” बालेनले भने, “अनुगमनमा तथ्य फरक देखिए कानुनबमोजिम कारबाही गरिन्छ।”

उनले सबै विवरण महानगरपालिकाको वेबसाइटमार्फत सार्वजनिक गरिएका कारण शंका वा अस्वाभाविक देखिएमा शिक्षा विभागसँग सम्पर्क गर्न अभिभावकलाई आग्रह गरे।

छात्रवृत्तिको पारदर्शी व्यवस्थापनमा देखिएको यस सक्रियताले महानगर र निजी विद्यालयबीचको सम्बन्धलाई कसरी प्रभावित पार्छ भन्ने विषयमा अबको समयले स्पष्ट पार्नेछ।