जेन-जी प्रदर्शनमा कमान्डो जस्तो पोशाकमा देखिएका युवक स्वयंसेवक भएको स्पष्ट

आइतबार साँझ माइतीघरमा भएको जेन-जी प्रदर्शनमा कालो पोशाकमा आएका एक युवकले केहीबेर सबैको ध्यान ताने। कालो टिसर्ट, पाइन्ट, जुत्ता, शरीर ढाक्ने ज्याकेट, टोपी, चस्मा र अनुहार ढाकेर उनी DRK मोटरसाइकलमा करिब साढे सात बजे प्रदर्शनस्थलमा प्रवेश गरेका थिए।
उनी देख्नेबित्तिकै केही प्रदर्शनकारीले सुरक्षाकर्मी नै होला भन्ने आशंका गरेका थिए। तर चाँडै नै त्यो भ्रम हट्यो। ती युवक २१ वर्षीय जेनिश महर्जन निक्ले, जो हामी नेपाल नामक संस्थाका स्वयंसेवक हुन्।
महर्जनले त्यस दिन पानी बाँड्ने, पम्प्लेट वितरण गर्ने, प्लेकार्ड बाँड्ने र स्वास्थ्य तथा एम्बुलेन्स व्यवस्थापनमा सहयोग गर्ने जिम्मेवारी लिएका थिए। उनीसँग वाकी-टकीसमेत थियो।
हामी नेपाल का अध्यक्ष सुधन गुरुङका अनुसार प्रदर्शनको पहिलो दिन करिब ४० जना स्वयंसेवक परिचालन गरिएको थियो। महर्जन पनि त्यसमध्ये एक थिए, जसले फरक पोशाकमा आफूलाई प्रस्तुत गरेका थिए। गुरुङले बताएअनुसार महर्जनले यस्ता पोशाक कहाँ पाइन्छ भनेर सेना पक्षसँग सोध्दा, सेनाले उचित लागेपछि उनीलाई पोशाक नै उपलब्ध गराएको हो।
सुरुवातमा भएको अलमल प्रष्ट भएपछि महर्जनको भूमिका स्वयंसेवककै भएको पुष्टि भयो। तर, यस्तो सैन्य शैलीको पोशाकले संवेदनशील अवस्थामा कसरी सहजै गलत बुझाइ सिर्जना गर्न सक्छ भन्ने कुरा यस घटनाले देखाएको छ।