समाचार

महावीर पुनको निर्देशन: हरेक विद्यालयमा कम्प्युटर शिक्षक!

महावीर पुनको निर्देशन: हरेक विद्यालयमा कम्प्युटर शिक्षक!

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पदभार ग्रहण गरेलगत्तै विद्यालय शिक्षामा सुधारका लागि ठोस निर्देशहरू दिएका छन्। मंगलबार उहाँले सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षा अनिवार्य बनाउने निर्णयसहित तीनवटा प्रमुख निर्देशन सार्वजनिक गरेका हुन्।

पुनले देशभरका सबै सामुदायिक माध्यमिक विद्यालयमा कम्तीमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी थप्नुपर्ने आदेश दिएका छन्। उहाँका अनुसार, “नेपालभरका विद्यार्थी कम्प्युटर शिक्षाबाट वञ्चित नहुन् भन्ने उद्देश्यले प्रत्येक विद्यालयमा कम्प्युटर शिक्षक अनिवार्य गर्न आवश्यक छ।”

त्यसैगरी, पुनले विश्वविद्यालय परीक्षाको परिणाम ढिलाइप्रति असन्तोष व्यक्त गर्दै परीक्षापछि बढीमा तीन महिनाभित्र नतिजा प्रकाशन गर्नुपर्ने निर्देशन दिएका छन्। समयमा नतिजा प्रकाशित नगर्ने विश्वविद्यालयहरूको अनुदान रोक्का गर्ने चेतावनीसमेत उहाँले दिएका छन्।

शिक्षामन्त्रीले त्रिभुवन विश्वविद्यालय कीर्तिपुर परिसरको व्यवस्थापनप्रति पनि ध्यान दिएका छन्। उनले त्यहाँका रुख नकटाई झाडी सफा गरी सुन्दर बगैंचासहित फुटपाथ बनाउन निर्देशन दिएका छन्।

मन्त्रिपरिषद्मा प्रवेश गरेकै दोस्रो दिन यस्तो निर्देशन दिएका पुनको कदमलाई तत्काल कार्यान्वयनमा लैजान चुनौतीपूर्ण हुने देखिन्छ, तर शिक्षा प्रणालीलाई प्रविधिमैत्री र समयमै उत्तरदायी बनाउन गरिएको पहलका रूपमा यसको मूल्यांकन भइरहेको छ।