समाचार

नवरात्र तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा आराधना!

नवरात्र तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा आराधना!

आश्विन शुक्ल तृतीया अर्थात् नवरात्रको तेस्रो दिन बुधबार देशभर देवी चन्द्रघण्टाको विशेष पूजा आराधना भइरहेको छ। दशैँ घर र शक्तिपीठमा विधिपूर्वक गरिएको यो साधनामा भक्तजनको उल्लेख्य उपस्थिति देखिएको छ।

पौराणिक ग्रन्थ अनुसार, हातमा चन्द्रमा टाँसिएको घण्टा धारण गर्ने भएकाले नवदुर्गामध्येकी तेस्रो रूपलाई ‘चन्द्रघण्टा’ भनिएको हो। मार्कण्डेय पुराणमा ‘चन्द्रः घण्टायां यस्याः सा’ भनी उल्लेख गरिएको छ। नेपाल संस्कृत विश्वविद्यालयका धर्मशास्त्र विषयका पूर्वप्राध्यापक तोयराज नेपालका अनुसार, चन्द्रघण्टा देवीको ध्यानले असाधारण शक्ति प्राप्त हुने विश्वास छ।

वाल्मीकि विद्यापीठका उपप्राध्यापक चिन्तामणि भट्टराईले देवी चन्द्रघण्टालाई शान्त, करुणामयी र अत्याचारी शक्तिको नाश गर्ने स्वरूपका रूपमा व्याख्या गर्दै, आजको आराधनाले भक्तजनमा आन्तरिक चमक र अध्यात्मिक जागरण ल्याउने विश्वास व्यक्त गर्नुभयो। संगीत र कला क्षेत्रमा लागेकाहरू विशेषतः चन्द्रघण्टाको आराधनामा समर्पित हुने परम्परा रहेको उहाँले बताए।

नवरात्रको सुरुवात सोमबार घटस्थापनासँग भएको हो। त्यस दिन शैलपुत्री देवीको पूजा गरिएको थियो। मंगलबार दोस्रो दिन ब्रह्मचारिणी देवीको आराधना सम्पन्न भएको थियो भने आज तेस्रो दिन भक्तजनले चन्द्रघण्टाको निष्ठापूर्वक पूजाआराधना गरिरहेका छन्।

नवरात्रभर घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्रको पाठ हुने गर्छ। धार्मिक परम्परा अनुसार नवरात्रमा देवीको ध्यान गर्नेले शक्ति, विद्या र ऐश्वर्य प्राप्त गर्छन् भन्ने विश्वास छ। यसै आधारमा वैदिक सनातन धर्मावलम्बीहरूले आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गर्ने र विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म प्रसाद ग्रहण गर्ने परम्परा निर्वाह गर्दै आएका छन्।

यस वर्ष पनि विभिन्न शक्तिपीठमा भक्तजनको बाक्लो उपस्थितिका कारण राजधानीदेखि ग्रामीण क्षेत्रमा धार्मिक उत्साह बढेको देखिन्छ। दसैँका नौ दिन क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्रीको पूजाआराधनासँगै नेपाली समाजले आफ्नो सांस्कृतिक परम्परालाई निरन्तरता दिइरहेको छ।

यसरी प्रत्येक वर्षझैँ यसपटक पनि चन्द्रघण्टाको आराधनाले नवरात्रको उल्लासलाई अझ प्रगाढ बनाएको छ, जसले आस्थामात्र होइन, सामाजिक एकतालाई पनि दृढ बनाइरहेको छ।