‘बलिदान’ले जेनजेड आन्दोलनको भावना प्रतिनिधित्व गर्छ : निर्देशक सेन

काठमाडौं । नेपाली कथानक चलचित्र बलिदान फुलपातीका दिन अर्थात भोलिबाट देशभर प्रदर्शनमा आउने भएको छ। निर्देशक सन्तोष सेनले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै यो चलचित्रले हालैको जेनजेड आन्दोलनसँग भावनात्मक साम्य राख्ने दाबी गरे।
उनका अनुसार बलिदान क्रान्ति, आमा र मातृभूमिका लागि लड्ने कथामा आधारित छ। “जेनजेड पुस्ताका भाइबहिनीहरूले जसरी परिवर्तनका लागि सडकमा उभिए, त्यस्तै संघर्ष र बलिदानको कथा चलचित्रमार्फत देखाइएको छ,” सेनले भने।
चलचित्रले अन्याय, दमन र कुठिन व्यवस्थाविरुद्ध आवाज उठाउन प्रेरित गर्ने सन्देश दिने पनि उनले उल्लेख गरे। उनका शब्दमा, “गाउँ–गाउँ, टोल–टोलमा युगपुरुषको जन्म हुनुपर्छ भन्ने सन्देश पनि यसमा समेटिएको छ।”
सेनले बलिदान आफ्नो लामो समयदेखिको सपना भएको र त्यसलाई पूरा गर्न धेरै उतारचढाव सामना गर्नुपरेको स्मरण गरे।
सो कार्यक्रममा कलाकार समिर भट्टले चलचित्र मातृभूमि र आमाछोराको कथा भएको उल्लेख गर्दै दर्शकको अग्रिम बुकिङप्रतिको उत्साहप्रति खुशी व्यक्त गरे। उनले बलिदान बाट आउने प्रतिक्रियाले आगामी चलचित्र निर्माणलाई समेत दिशा दिने बताए।
‘आशुसेन फिल्म्स प्रालि’को ब्यानरमा बनेको यो चलचित्रमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायत कलाकारको अभिनय छ। चलचित्रका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन्।
balidan santosh sen