समाचार अपराध सुरक्षा

सुनसरी–मोरङबाट ठूलो परिमाणमा लागूऔषध बरामद, दुई जना पक्राउ

सुनसरी–मोरङबाट ठूलो परिमाणमा लागूऔषध बरामद, दुई जना पक्राउ

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयको समन्वयमा सुनसरी र मोरङ जिल्लामा सञ्चालन गरिएको विशेष अभियानमार्फत ठूलो परिमाणमा लागूऔषध बरामद भएको छ भने दुई जना पक्राउ परेका छन्।

सुनसरीको धरान–४ मा बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले प्लास्टिकको बोरामा प्याक गरिएको २ सय ७५ किलोग्राम गाँजा सहित धनकुटा साँगुरीगढी गाउँपालिका–८ का १९ वर्षीय बिबसन राईलाई नियन्त्रणमा लिएको छ। सो अभियानमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, इलाका प्रहरी कार्यालय धरान, भेडेटार र वडा प्रहरी कार्यालय धरान संलग्न थिए।

त्यसैगरी, सुनसरीकै कोशी गाउँपालिका–५ मा अस्थायी प्रहरी चौकी कटानले बेवारिसे अवस्थामा छोडिएको ४७ किलोग्राम गाँजा बरामद गरेको छ।

धरान नजिकैको भोक्राहानरसिंह गाउँपालिका–२ मा प्रहरी चौकी भोक्राहाले सञ्चालन गरेको नियमित चेकजाँचमा ६ हजार ८ सय ६० क्याप्सुल (६८६ पत्ता) ट्रामाडोल बरामद गरिएको प्रहरीले जनाएको छ।

मोरङतर्फ, वडा प्रहरी कार्यालय विराटनगर–११ बाट खटिएको टोलीले उदयपुर चौदण्डीगढी गाउँपालिका–४ की २१ वर्षीया इसिका मगरलाई पक्राउ गरेको छ। उनको साथबाट ४२ क्याप्सुल ट्रामाडोल र ६ पिस डिकोलिक फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पछिल्लो समय सुनसरी र मोरङ सीमावर्ती क्षेत्रमा गाँजा र प्रतिबन्धित औषधिको अवैध कारोबार बढ्दो अवस्थामा छ। नियन्त्रणमा लिएका व्यक्तिलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।

drugs Lagu Ausad