जेनजी म्यारिज अध्यादेश २०८२: बालेन्द्र साह अगाडि, पुराना नेता पछाडि, जेन–जी विजयी घोषणा

जेनजी म्यारिज अध्यादेश, २०८२
सेप्टेम्बर ८ र ९ मा भएको जेन–जी आन्दोलनपछि बनेको नयाँ व्यवस्थाले पुराना विवादित अभ्यास र असक्षम नेताहरूलाई विस्थापित गर्दै, जनताको व्यंग्यात्मक चेतनालाई कानुनी रूप दिन यो अध्यादेश ल्याएको हो। दशैं–तिहारजस्ता महान पर्वहरूलाई “म्यारिज” खेलले कब्जा गरेको सामाजिक यथार्थलाई स्वीकार गर्दै, अब यसलाई व्यवस्थित, मर्यादित र शान्तिपूर्ण बनाउन कानुनी ढाँचा आवश्यक ठहर गरिएको छ।
म्यारिज खेल सबै तहका व्यक्तिहरू—चाडवाड, काजक्रिया, मेलापात, रुद्री वा पुराण, जागिरे वा बेरोजगारसम्मका लागि लोकप्रिय भएको भए पनि नियमको अभावमा किचलो, झैँझगडा र अमर्यादित अवस्था उत्पन्न हुने गरेकोले यसलाई कानुनी रूपमा परिभाषित गरिएको हो।
यो अध्यादेश काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साहको सिफारिसमा, सेनापतिको सहमति, प्रधानमन्त्रीको प्रस्तुत र राष्ट्रपतिबाट प्रमाणीकरणभएर लागू हुनेछ। संविधानसँग कुनै प्रावधान बाझिएमा, आवश्यक परे संविधानलाई नै संशोधन गर्ने गरी यो अध्यादेशको व्यवस्था गरिएको छ, ताकि खेलको मर्यादा, विधि र शान्ति कायम रहोस् र कुनै अन्योलता उत्पन्न नहोस्।
यसरी, जेन–जी पुस्ता (१३ देखि २८ वर्ष) ले सुरक्षाको डर वा प्रशासनिक निगरानीको त्रास बिना उच्च आत्मसम्मान, आत्मविश्वास र सम्मानजनक तरिकाले खेल्न सक्ने अधिकार प्राप्त गर्नेछन्। प्रहरी वा प्रमुख जिल्ला अधिकारीले हस्तक्षेप गरेमा कानुनी कारबाही गर्ने जिम्मेवारी सरकारकै हुनेछ। यो अध्यादेश ढिलो भएको कारण जनतामा आक्रोश छ, तर अन्ततः नयाँ व्यवस्थाले यसलाई स्वीकृत गरेको छ।
परिच्छेद–१. संक्षिप्त नाम र प्रारम्भः
(क) यो अध्यादेशको नाम “जेनजी म्यारिज अध्यादेश, २०८२” हुनेछ।
(ख) यो अध्यादेश म्यारिज खेलाडीहरू, यस खेलप्रति रुचि राख्ने दर्शकहरू, तथा खेलमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न हुने व्यक्तिहरूको हकमा मात्र लागू हुनेछ।
(ग) यो अध्यादेश काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साहको सिफारिस, सेनापतिको सहमति, प्रधानमन्त्रीको प्रस्तुत र राष्ट्रपतिबाट प्रमाणीकरण भएलगत्तै तुरुन्त लागू हुनेछ।
परिच्छेद–२. परिभाषाः
यो संसारकै पहिलो तास सम्बन्धी अध्यादेश हो—जसले संविधानलाई समेत संशोधन गर्न सक्छ। “संविधानले जे गर्न सकेन, म्यारिज अध्यादेशले गर्यो” भन्ने प्रसिद्ध उक्ति नै यसको मूल आत्मा हो। विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस अध्यादेशमा निम्न कानुनी परिभाषा लागू हुनेछ:
(क) "तास" भन्नाले एक्का देखि वादशाहसम्मका चिडी, सूरत, ईट र पानका चार प्रकारका तास (चक्की) सम्झनु पर्दछ।
(ख) "बुक" भन्नाले खण्ड (क) मा उल्लेखित ५२ पाना वा सोही समूहलाई मिश्रित रूपमा सम्झनु पर्दछ।
(ग) "म्यारिज बुक" भन्नाले खण्ड (क) अनुसारका ४ बुक तास सम्झनु पर्दछ।
(घ) "दाना तथा गेडा" भन्नाले तास खेल्दा पैसाको विकल्पस्वरूप प्रयोग गरिने मकै, भटमास, सिमी, मटर, केराउ वा अन्य सजिलै गन्न सकिने गेडागुडी तथा वस्तुलाई सम्झनु पर्दछ। यसले राष्ट्र बैंकको विदेशी मुद्रासँग टक्कर खाने “स्थानीय मुद्रा” को हैसियत पाएको छ।
(ङ) "खेलाडी" भन्नाले जित्ने उद्देश्य राखी दुई वा दुईभन्दा बढी तर आठ जनाभन्दा कम संख्यामा, स्वास्नी वा छोराछोरीको आँखा छली, घर वा कार्यालयको कामकाज पन्छ्याएर, खालमा चौबिसै घण्टा बिताउने व्यक्तिलाई सम्झनु पर्दछ।
(च) "टट्टु तथा धुपौरे" भन्नाले घर वा कार्यालयको कामकाजको थकाइले खालमा गएर उँघ्ने, लम्पसार परेर सुत्ने, अर्काको तास हेरी “यो फाल, त्यो फाल” भन्दै गुनगुन गर्ने, “लोदर लाग्यो” भन्दा पलेटी कस्ने, अरुले “नबोल” भन्दा पनि ङिच्च दाँत देखाएर हाँस्ने वा निन्याउरो मुख बनाउने व्यक्तिलाई समेत बुझाइनेछ।
(छ) "म्यारिजको खाल" भन्नाले सम्भव भएसम्म सुकुलमाथि शतरन्जा ओछ्याइएको, अम्मलीहरूको अम्मलअनुसार पानी, रक्सी, चुरोट, पान–पराग, खैनी, सुर्ती वा यस्तै किसिमका पान–मसला जुटाइएको स्थानलाई सम्झनु पर्दछ। यो खाललाई “जनताको वास्तविक संसद्” को रूपमा मान्यता दिइनेछ।
(ज) “मुर्गा” भन्नाले खेलको अवधिमा अत्यधिक मात्रामा रुपैयाँ वा गेडागुडी हार्ने हरुवा व्यक्तिलाई बुझाइन्छ। यस्तो मुर्गा प्रायः पुराना नेताजस्तै हुन्छ—हारेपछि पनि बाटो खर्च माग्दै घर फर्कनुपर्ने।
(झ) “लाग्यो” भन्नाले साथमा भएको नगदी वा सम्पूर्ण जिन्सी हारेर टाट पल्टिएको अवस्थामा, नतिर्ने हैसियतमा, ङिच्च दाँत देखाएर दिने जवाफ बुझिन्छ। यो शब्द संविधानसभाको बहुमतजस्तै हो—खल्तीमा पैसा (वा शक्ति) भएर पनि बदनियतले नतिर्ने नियतको प्रतीक।
(ञ) “डबल म्यारिज” भन्नाले खण्ड (ग) अनुसारको दुई जोडी बुक सम्झनु पर्दछ। यसले दुईवटा पुराना पार्टीबीचको गठबन्धनलाई व्यंग्यात्मक रूपमा झल्काउँछ—जुन अन्ततः मुर्गा नै हुन्छ।
(ट) “चौरेला” भन्नाले कुनै पनि रङ्गका एउटै अंकका ४ कार्डलाई बुझिन्छ। यो नेपाली राजनीतिमा एउटै अनुहार ४ पार्टीमा देखिनेजस्तै हो।
(ठ) “डब्बल चौरेला” भन्नाले खण्ड (ट) अनुसारका दुई जोडीलाई बुझिन्छ—यो ठीक त्यसरी नै हो जसरी नेताहरूले आफ्नै नातेदारलाई दुई–दुई पार्टीमा टिकटका साथ पठाउँछन्।
(ड) “सिक्वेन्स” भन्नाले एउटै रङ्गका क्रमिक ३ देखि ५ कार्डसम्मको श्रृंखला बुझिन्छ। राजनीतिक रूपमा यो ३ देखि ५ पटक प्रधानमन्त्री बन्ने आकांक्षी नेतासँग मेल खान्छ।
(ढ) “जोक्कर” भन्नाले कटुवाले माल काटेपछि पल्टिने तासलाई बुझिन्छ। यो प्रावधानमा प्रायः पुराना नेताहरू आफैंलाई “जोक्कर” साबित गर्ने गर्दछन्।
(ण) “माल” भन्नाले कटुवाले काटेपछि बुकले थिचेर राखिएको तासलाई बुझिन्छ। यो सरकार बनाउने बेला भागबण्डाको मालजस्तै हो, जसलाई सबैले छुन खोज्छन्।
(त) “वाई सी एल” भन्नाले मूल जोक्करलाई बुझिन्छ। राजनीतिक सन्दर्भमा यो पुराना पार्टीको ‘युवा संगठन’ जस्तै हो—जो खेल बिगार्न तत्पर हुन्छ।
(थ) “कटुवा” भन्नाले ३ सिक्वेन्स पुगेपछि जोक्कर वा माल काट्ने व्यक्तिलाई बुझिन्छ। पहिल्यै जोक्कर पल्टाउने खेलमा भने, बडुवालको देब्रेपट्टि बस्ने व्यक्ति नै कटुवा ठहरिन्छ। यसको राजनीति रूपान्तरण—निर्वाचन आयोग वा सर्वोच्च अदालत हो, जसले अन्तिममा काट्न सक्छ।
(द) “सुको मरु झा” भन्नाले कटुवाले माल काट्दा जोकरसम्म नपरेको अवस्था बुझिन्छ। यो सरकार बनाउँदा ‘ना बहुमत, ना विपक्ष’ हुने अलमलको प्रतिरूप हो।
(ध) “अल्टर” भन्नाले कटुवाले काटेको मालको विपरीत रङ्ग र अंकको तासलाई बुझिन्छ। यसलाई राजनीतिमा ‘विपक्षमा बसेर सरकारको लाभ लिने’ अभ्याससँग तुलना गर्न सकिन्छ।
(न) “बाटो खर्च” भन्नाले अत्यधिक हारेपछि घर फर्कन नसक्ने मुर्गालाई जितुवाले दिनुपर्ने यात्रा–खर्च बुझिन्छ। यो त्यस्तै हो जसरी जनताले कर तिरेर नेताहरूको बाटो खर्च (भ्रमण खर्च) बेहोर्नु पर्छ।
(प) “बडुवाल” भन्नाले शर्तअनुसार तास बाँड्ने जिम्मा लिने व्यक्तिलाई बुझिन्छ। यो नेपालमा मन्त्री बन्ने ‘भान्से’ जस्तै हो—सबैलाई भाग बाँड्ने तर आफैंलाई बढी राख्ने।
(फ) “कटफर” भन्नाले निर्धारित राउण्डमा ठुलो तास पल्टाएर आसन सट्टापट्टा गर्ने कार्य बुझिन्छ। यसको राजनीतिक व्यंग्य—‘कुर्सी फेर्ने खेल’।
(ब) “१३ प्वाइन्ट” भन्नाले अघिल्लो दिनको ह्याङ्ग वा गल्तीको कारणले तिर्नुपर्ने जरिवाना बुझिन्छ। यसलाई राजनीतिमा ‘जनताको धकेल’ वा ‘आन्दोलनको प्रहार’ सँग तुलना गर्न सकिन्छ।
(भ) “डुप्ली” भन्नाले एउटै रङ्गका एउटै अंक भएका जोडी तास बुझिन्छ। यो त्यस्तै हो जसरी पुराना नेताहरू सबै पार्टीमा एउटै बोली बोल्छन्।
(म) “डुप्ली शो” भन्नाले ७ डुप्ली बनाएर लेस बसेपछि ८ डुप्ली बनाई देखाइने शो बुझिन्छ। राजनीति भाषामा—जनतालाई थकाइ लागेपछि देखाइने ‘लोकतन्त्र बचाउने नाटक’।
(य) “बेटर” भन्नाले १० भन्दा माथिको माल परेपछि वा माल नै नपरेपछि खेलिने दोब्बर खेल बुझिन्छ। यो सरकार नबन्ने अवस्था आउँदा ‘वैकल्पिक गठबन्धन’ गर्ने शैलीसँग मेल खान्छ।
(र) “खाल” भन्नाले जब जीवनमा अरू कुनै काम चल्दैन, नोकरी पाइँदैन, वा राजनीति नै रोजगारी बन्ने अवस्थामा, घरमै स्थापना गरिने तासको संसद् बुझिन्छ।
(ल) “पुरानो कोदो” भन्नाले अघिल्लो खेल (राजनीतिक गठबन्धन) को बाँकी हिसाबलाई बुझिन्छ। पुराना नेताहरू यही ‘पुरानो कोदो’ घिसारिरहन्छन्।
(व) “डिपोजिट” भन्नाले खेलाडीहरूको आपसी अविश्वास बढेपछि राखिने जमानत रकम बुझिन्छ। यो राजनीतिमा चुनावी धरोहरजस्तै हो—जहाँ जनताले पैसा तिर्छन् तर फिर्ता पाउँदैनन्।
(स) “म्याच फिक्सिङ” भन्नाले तासलाई पूर्वनिर्धारित मिलाएर कसैलाई जानाजानी हराउने नियत बुझिन्छ। यो ठ्याक्कै ‘पुराना नेताहरूको चुनावी तालमेल’ हो—जनतालाई धोका दिन बनाइएको खेल।
परिच्छेद–३ (नियम, माल गणना, शो व्यवस्था आदि)
३. यस खेलसँग सम्बन्धित विभिन्न नियम, माल गणना विधि, शो व्यवस्था, र खेलाडीको जिम्मेवारीहरूलाई जेनजी म्यारिज अध्यादेश, २०८२ मार्फत व्यवस्थित गरिनेछ, ताकि खेलमा रोचकता, निष्पक्षता, र जेनजी पुस्ताको आत्मा दुवै कायम रहोस्।
(क) खेलाडीको संख्या: यो खेल २ जना देखि ८ जनासम्ममा मात्र खेल्न सकिनेछ। यसरी २ देखि ८ जनासम्म खेल्दा, जनताको आन्दोलनमा देखिएको जस्तै, शर्त बमोजिम घोप्टो वा उत्तानो पारी खेल्न सकिनेछ।
(ख) माल गणना विधि:
-
(अ) कटुवाले काटेको रङ्ग र अंकको मुनिको टिप्लु र पप्लु २/२ को माल हुनेछ।
-
(आ) दुवै तास आएमा ४ को माल हुनेछ।
-
(इ) १ टनेला ५ को, २ टनेला १५ को, ३ टनेला परेमा स्वतः ४० को माल हुनेछ—यो आन्दोलनको तीन चरण झैं निर्णायक मानिनेछ।
-
(ई) १ अल्टर ५ को, २ अल्टर १५ को, ३ अल्टर २५ को, ४ अल्टर ३० को हुनेछ। जोक्कर ५ को, २ जोक्कर १५, ३ जोक्कर २५, ४ जोक्कर ३० को माल हुनेछ।
-
(उ) पल्टेको तासको पप्लु वा टिप्लु तथा दुवै भएमा ९ को माल र म्यारिज १० को माल हुनेछ।
-
(ऊ) माथि उल्लेखित बाहेक, खेलाडीहरूले सहमतिपूर्वक अन्य जोक्करलाई पनि माल थपेर खेल्न सक्नेछन्।
(ग) डुप्ली खेल: ७ डुप्ली भएपछि भुइँमा देखाएर लेसमा बस्न सकिनेछ, ८ डुप्ली भएमा तुरुन्त शो मानिनेछ। तर उत्तानो पारी खेल्दा डुप्ली भुइँमा पछार्न नपर्नेछ। यसरी ५ प्वाइन्ट सलामी खाने व्यवस्था हुनेछ।
(घ) टनेला तथा डुप्ली शो: खेलको सुरुवातमै ३ टनेला परेमा वा ८ डुप्ली हातमा परेमा स्वतः शो हुनेछ। यो अचानक सडकमा निस्किएको आन्दोलनबराबर मानिनेछ।
(ङ) बेटर खेल: १० भन्दा माथि माल परेपछि वा माल नपरेको अवस्थामा, खेलाडीहरूको सहमतिमा “बेटर” खेल खेल्न सकिनेछ। यसलाई वैकल्पिक सरकार गठन बराबर मानिनेछ।
(च) जोक्करलाई माल मान्ने: खेलाडीहरूको सहमतिमा बाहिरको जोक्करलाई १, २, ३ वा ४ राखेर अल्टरको गणनामा प्रयोग गर्न सकिनेछ। यो संविधान संशोधनको लचकता बराबर हुनेछ।
(छ) “लाग्यो” निषेध: खेलाडी मुर्गा भएपछि “लाग्यो” भन्न पाइने छैन। यस्तो खेलाडीले तुरुन्तै डिपोजिटमा धक्का लाग्ने बित्तिकै उठ्नुपर्नेछ। यसलाई जनताले पुराना नेताहरूमाथि लगाएको प्रतिबन्ध बराबर मानिनेछ।
(ज) खालमा हराएको वस्तुको जिम्मेवारी: जुत्ता, रिङ, चेन, घडी, ज्याकेट वा अन्य सरसामान हराएमा खाले नभई स्वयं खेलाडी नै जिम्मेवार हुनेछ। यो जनताको सम्पत्ति हरण गर्ने नेताहरू प्रतीक हो।
(झ) पुरानो कोदो नयाँ खेलमा ल्याउन निषेध: अघिल्लो खेलको बाँकी हिसाब (पुरानो कोदो) नयाँ खेलमा ल्याउन पाइने छैन। उठ्ती रकम तुरुन्तै खालमै मिलाउनुपर्नेछ वा माफ मिनाहा गर्नुपर्नेछ। यो पुराना आन्दोलनका बाँकी मुद्दा घिसार्न नपाइने Gen Z को मागसँग मेल खान्छ।
(ञ) परिवार वा आफन्त आएमा उठ्नुपर्ने: खेलको बीचमा स्वास्नी, छोरा–छोरी वा अन्य आफन्त आएर “उठ्नुस्” भनेमा तुरुन्तै उठ्नुपर्नेछ। यो जनताको आदेश सर्वोपरि हुन्छ भन्ने सन्देश हो।
(ट) जितौरी बाँड्न नपर्ने: जित्ने खेलाडीलाई जबर्जस्ती जितौरी बाँड्न बाध्य पारिने छैन। जितुवाले स्वेच्छाले दिने जितौरी मात्र दर्शकहरूले ग्रहण गर्न सक्नेछन्। यो भ्रष्टाचारमुक्त पारदर्शिता को व्यंग्य हो।
(ठ) बाटो खर्च दिइने: खेलमा लगातार हारेको मुर्गालाई, यदि घर टाढा परे, भने जित्ने खेलाडीहरूले बाटो खर्च दिनुपर्नेछ। तर, जितुवाले जुत्ता टिपेर भाग्न खोजेमा, ऐनअनुसार तुरुन्त दण्ड सजाय हुनेछ।
परिच्छेद–४ (निषेधित कार्यहरू)
४. म्यारिज खेल तथा खालमा तलका कार्यहरू कडाइका साथ निषिद्ध हुनेछन्। यी कार्यहरू गर्नेहरूलाई तत्कालीन जनभावना अनुसार कारबाही हुने व्यवस्था गरिनेछ:
(क) गलत शो गर्न नहुने: नियम विपरीत, नबनेको सिक्वेन्स वा डुप्ली देखाएर नक्कली शो गर्ने कार्य प्रतिबन्धित हुनेछ। यस्तो कार्यलाई पुराना नेताहरूको नक्कली उपलब्धि रिपोर्ट बराबर मानिनेछ।
(ख) मुख छाड्न वा हात हाल्न नहुने: खेलाडी वा दर्शकबीच मुख छाड्ने, गाली–गलौज गर्ने, वा हात हाल्ने कार्य गर्न पाइने छैन। यसलाई उल्लंघन गर्नेहरूलाई जेनजी पुस्ताको “सडक न्याय” भोग्नु पर्नेछ।
(ग) गिद्धे दृष्टि निषेध: खालेको स्वास्नी, छोरी वा चेलीमाथि गिद्धे दृष्टि लगाउने, जिस्क्याउने वा गिज्याउने कार्य पूर्णतया निषेध हुनेछ। यस्तो अपराधलाई जेनजी आन्दोलनको “नो टोलरेन्स” नीति अनुसार तत्काल दण्ड दिइनेछ।
(घ) धारिलो हतियार निषेध: खालमा चक्कु, खुकुरी, पिस्तोल वा अन्य धारिलो हतियार लिएर आउन पाइने छैन। खालमा ल्याउनेबित्तिकै, बालेन्द्र साहको सिफारिस र सेनापतिको सहमतिमा खेलाडीलाई तुरुन्तै बाहिर निकालिनेछ।
(ङ) इशारा गरेर मालको जानकारी दिन नहुने: आँखा झिम्क्याएर, खोक्दै, मोबाइल देखाउँदै वा अन्य कुनै संकेतमार्फत साथीलाई मालको जानकारी दिन पाइने छैन। यो चुनावी गठबन्धनमा गुप्त डिल बराबर मानिनेछ।
(च) वाई.सि.एल. काट्ने विशेष व्यवस्था: खालमा जोकर वा माल काट्दा, काट्ने व्यक्तिले ५ प्वाइन्ट स्वतः पाउनेछ। पुनः काट्दा पुनः परेमा १० प्वाइन्ट पाउनेछ। यसलाई सडकमा टायर बालेर पुनः आन्दोलन गर्ने बोनस प्वाइन्ट बराबर मानिनेछ।
परिच्छेद–५ (दण्ड सजाय व्यवस्था)
५. यस खेलमा निम्न बमोजिमको दण्ड सजायको व्यवस्था गरिनेछ:
(क) १३ प्वाइन्ट जरिवाना: व्यक्तिगत लाभका लागि वा दूषित मनसायले खेलाडीहरूको आँखा छली माल थप्ने, फेरबदल गर्ने, वा गलत शो गर्ने व्यक्तिलाई १३ प्वाइन्ट जरिवाना तिराई तास हाप्न लगाइनेछ। अन्यथा यस अध्यादेशको सम्बन्धित दफाबमोजिम कारबाही हुनेछ।
(ख) माल नपरेपछि होहल्ला गर्ने अपराध: कटुवाले माल काट्दा माल वा जोक्कर नपरेको भन्दै कुइकुई गर्ने, “था…था…थु…थु…” भन्ने वा ताससम्म हुत्याउने खेलाडीलाई तुरुन्त १३ प्वाइन्ट जरिवाना तिराई खालबाट निष्कासन गरिनेछ।
(ग) मुख छाड्ने र गाली गर्ने निषेध: खेलको नाममा व्यक्तिगत वादविवाद गर्ने, गाली–गलौज गर्ने वा शारीरिक झडप गर्ने खेलाडीलाई तत्काल निष्कासन गरिनेछ। निज पुनः भविष्यमा खेल्न अयोग्य ठहरिनेछ र पुनरावेदन स्वीकार गरिने छैन।
(घ) धारिलो हतियार प्रयोग गर्ने अपराध: खेलको समयमा चक्कु, खुकुरी वा अन्य धारिलो हतियार प्रयोग गरी खेलाडीलाई घाइते बनाउने व्यक्तिलाई ३५ दिनभित्र निको नहुने चोट भए कानुनी कारबाहीका लागि प्रहरीमा बुझाइनेछ। ३५ दिनभित्र निको हुने चोट भएमा प्रहारकर्ताले सम्पूर्ण उपचार खर्च व्यहोर्नुपर्नेछ।
(ङ) आफन्त आएपछि उठ्नुपर्ने नियम उल्लंघन: खेलाडीलाई आफन्तले “उठ्नोस्” भनेपछि तुरुन्त नउठी खेल लम्ब्याउने, तास च्यात्ने वा हुर्याउने अपराध गर्ने व्यक्तिलाई तासको मूल्यसहित १०% रकम जरिवाना असूल गरिनेछ। उठेको रकमको ५% टट्टु र धुपौरेको चिया–नास्तामा खर्च गरिनेछ।
(च) जिस्क्याउने अपराध: खालेको स्वास्नी, छोरी वा चेलीमाथि गिद्धे दृष्टि लगाउने, जिस्क्याउने वा अशोभनीय व्यवहार गर्ने बिल्टुवालाई तत्काल बाहिर निकाल्ने र नाङ्गेझार पारेर सिस्नु पानी लगाउने व्यवस्था हुनेछ। कानुनी कारबाही थप खुला रहनेछ।
(छ) जितुवा खेलाडी भाग्न नहुने: जितुवा खेलाडीले न्यूनतम १० राउण्ड नखेलेसम्म भाग्न पाइने छैन। भागेमा जितेको सम्पूर्ण रकम जफत गरी थुत्ती बाहिर पठाइनेछ। अन्य खेलाडी र धुपौरेहरूले मद्दत गर्नुपर्नेछ।
(ज) मादक पदार्थ सेवन गरेकालाई मुर्गा बनाउन नहुने: कुनै पनि नशामा रहेका खेलाडीलाई जबर्जस्ती खेलाइ जीत्ने व्यक्तिलाई ३ वर्षसम्म खेलमा सहभागी हुन निषेध गरिनेछ।
(झ) म्याच फिक्सिङ निषेध: म्याच फिक्सिङ गरेको पाइएको खण्डमा जीवनभरका लागि तास खेलमा प्रतिबन्ध लगाइनेछ। यस प्रतिबन्धलाई विश्वस्तरमा मान्यता दिन विश्व म्यारिज ब्युरो लाई पत्र लेखिनेछ।
थप विशेष दण्ड प्रावधान (जेनजी आन्दोलनपछिको व्यवस्था अनुसार):
-
सीधा कारबाही: खेलमा ठग्ने, अमर्यादिक कार्य गर्ने, खालमा आएर सितन मात्र खाने, वा मापसे गरेर होहल्ला गर्ने खेलाडीलाई जेनजीहरूले प्रत्यक्ष पिट्न सक्नेछन्।
-
बाधा अड्काउ फुकाउ: कुनै विषय यस अध्यादेशमा उल्लेख नभएमा, काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहको सिफारिसमा, सेनापतिको सहमतिमा, प्रधानमन्त्रीले बाधा अड्काउ फुकाउ गर्न सक्नेछन्। तर यसको प्रमाणीकरण राष्ट्रपतिबाट हुनुपर्नेछ।
-
अस्वीकृत भएमा: यदि सेनापतिले सहमति नदिए, प्रधानमन्त्रीले फुकाउ नगरे, वा राष्ट्रपतिले प्रमाणीकरण नगरे—जेनजीहरूले पुत्ला जलाउने अधिकार पाउनेछन्।
-
मेयर बालेन्द्र साहमाथि कारबाही नहुने: जे भए पनि मेयर साह पूर्णतः दण्डमुक्त रहनेछन्।
-
अदालतको व्यवस्था: अन्य कानुनी व्याख्या आवश्यक छैन। तर कुनै ज्वाडेले चाहेमा, सर्वोच्च अदालत खुलेपछि मात्र संवैधानिक इजलासमा रिट हाल्न सक्नेछन्। देशभरका जिल्ला र उच्च अदालतहरू जलिसकेकाले, तल्लो अदालतमा मुद्दा दर्ता नहुने व्यवस्था हुनेछ।
-
जेनजी छुट: १३ देखि २८ वर्षसम्मका असली जेनजी हरूलाई यस अध्यादेशमा तोकिएका सबै दण्ड र जरिवानाबाट पूर्ण छुट तथा माफी दिइनेछ।
-
पुराना नेतामाथि प्रतिबन्ध: पुराना पार्टीका सभापति, अध्यक्ष, महासचिव, महामन्त्री, उपाध्यक्ष वा पदाधिकारीहरूले यो खेल खेल्न पाउने छैनन्। जबर्जस्ती गरेमा, आगामी निर्वाचनमा जनताले बहिष्कार गर्नेछन्।
परिच्छेद–६. अन्य नियम, विनियममा असर नपर्ने
यस अध्यादेशका प्रावधानहरूले क्षेत्रगत रूपमा बनेका वा चलनचल्तीमा रहेका अन्य नियम–विनियमलाई कुनै पनि प्रकारले असर गर्ने छैन।
परिच्छेद–७. लागू हुने
यो अध्यादेश केवल म्यारिजप्रेमी खेलाडीहरू वा यससँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सम्बन्धित व्यक्तिहरूमाथि मात्र लागू हुनेछ।
परिच्छेद–८. संयोग हुने
यस अध्यादेशका प्रावधानहरू अन्य नियम वा विनियमसँग मेल खाएमा, त्यो संयोगका रूपमा मात्र मानिनेछ।
परिच्छेद–९. अमान्य हुने
यस अध्यादेशसँग बाझिएका कुनै पनि प्रावधानहरू बाझिएको हदसम्म स्वतः अमान्य हुनेछन्।
परिच्छेद–१०. बाधा अड्काउ फुकाउने
अध्यादेशमा स्पष्ट व्यवस्था नभएका विषयमा खेलाडीहरूको आपसी समझदारी, वा आवश्यक परे मेयर बालेन्द्र साहको सिफारिस र सेनापतिको सहमतिमा प्रधानमन्त्रीद्वारा बाधा अड्काउ फुकाउने व्यवस्था हुनेछ।
परिच्छेद–११. संशोधन
यस अध्यादेशमा संशोधन वा सुझाव दिन चाहनेले अब नेपाल म्यारिज संघ, केन्द्रीय कार्यालय, मेयर बालेन्द्र साहको घर, गैरीगाउँमा लिखित राय वा सुझाव दिन सक्नेछन्।
सम्पादकीय सूचना
यो कथा व्यंग्य र ठट्टाको रूप हो। यस कार्यको कुनै कानुनी वैधता छैन।
– सम्पादक