अब कुकरको सिटीमै जरिवाना! काठमाडौंमा राति–बिहान घरभित्रको आवाज पनि अपराध?

काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले राति अबेर वा बिहान सबेरै हुने ध्वनि प्रदूषण नियन्त्रण गर्न विशेष अभियान सुरु गरेको छ। यसअन्तर्गत प्रेसर कुकरमा सिटी लगाउने जस्ता सामान्य देखिने तर स्वास्थ्य र सामाजिक जीवनमा नकारात्मक असर पार्ने गतिविधिमा नियन्त्रण गर्ने लक्ष्य लिइएको छ। प्रहरीको सूचनामा राति अबेर वा बिहान सबेरै कुकरको सिटी, ठूलो स्वरमा गफगाफ, भान्साका भाँडाकुडा हानाहान, ढोकाको बेल बजाउने, उच्च स्वरमा संगीत बजाउने वा नाचगान गर्ने, टेलिभिजन र साउन्ड सिस्टम ठूलो आवाजमा चलाउने जस्ता गतिविधि तत्काल रोक्न आग्रह गरिएको छ।
प्रहरीका अनुसार यस्तो ध्वनि प्रदूषणले गर्भवती, मुटुरोगी, वृद्धवृद्धा र बालबालिकामा गम्भीर शारीरिक तथा मानसिक असर गर्ने वैज्ञानिक तथ्य प्रमाणित भइसकेको छ। साथै, यसले सर्वसाधारणको सामाजिक, आर्थिक क्रियाकलाप तथा पारिवारिक सम्बन्धमा पनि प्रतिकूल असर गर्ने भन्दै छिमेकीलाई सजग र जिम्मेवार हुन आग्रह गरिएको छ।
सूचनामा राति शौचालय फ्लस गर्दा आवाज कम गर्न, बिहान नित्यकर्मका क्रममा खोक्दा वा खकार्दा सचेत रहन, संगीत अभ्यास गर्दा ध्वनि नियन्त्रण उपकरण प्रयोग गर्न सुझाव दिइएको छ। यस्ता गतिविधि रोक्न असफल हुने वा निरन्तर प्रदूषण गर्ने व्यक्ति वा संस्थामाथि कानुनअनुसार तीन लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने चेतावनी पनि प्रहरीले दिएको छ।
यस्तै, टोल–छिमेकमा ध्वनि प्रदूषण बढाउने गतिविधि देखिएमा तत्काल १०० वा १०३ मा फोन गरेर जानकारी दिन सर्वसाधारणलाई आग्रह गरिएको छ। प्रहरीको यो कदम शहरमा बढ्दो ध्वनि प्रदूषण नियन्त्रण गर्ने मात्र नभई सामाजिक मर्यादा र स्वास्थ्यलाई दीर्घकालीन रूपमा सुरक्षित गर्ने प्रयासका रूपमा पनि हेर्न सकिन्छ।