जेलेन्स्कीको कडा जवाफ: ‘आतङ्ककारीको राजधानी मस्कोमा म जान्न’ – पुटिनलाई दिए खुलेआम चुनौती!

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मस्कोमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्ने प्रस्ताव अस्वीकार गर्दै यो पहल वास्तविक शान्ति खोजी होइन भन्ने टिप्पणी गर्नुभएको छ। अमेरिकी मिडियासँग कुरा गर्दै उहाँले भन्नुभयो, “म आतङ्ककारीको राजधानी जान सक्दिनँ, किनकि युक्रेन दैनिक रूपमा मिसाइल र गोलीबारीको निशानामा छ। पुटिन किएभ आउन सक्नुहुन्छ।”
यो प्रतिक्रियाले पुटिनको अघिल्लो अभिव्यक्तिलाई प्रत्यक्ष चुनौती दिएको छ। पुटिनले यसै हप्ता आफू वार्ताका लागि तयार रहेको तर भेट मस्कोमै मात्र सम्भव हुने बताएका थिए। क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले पनि जेलेन्स्कीलाई रूसी राजधानीमा ‘वार्ता गर्न निमन्त्रणा गरिएको, आत्मसमर्पण गर्न होइन’ भनेर प्रष्ट्याएका थिए।
वार्ता सम्भावनाबारे अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प सक्रिय रूपमा संलग्न देखिएका छन्। गत महिना अलास्कामा पुटिनसँग भेट्दा ट्रम्पले यसलाई द्विपक्षीय वा त्रिपक्षीय वार्ताको तयारीको रूपमा प्रस्तुत गरेका थिए। त्यसपछि वासिङ्टनमा जेलेन्स्कीको भ्रमण तथा युरोपेली नेतासँगका छलफलपछि मात्र सम्भावित बैठकबारे निर्णय हुने बताइएको थियो। तर मस्कोले अतिरिक्त सर्तहरू अघि सारेको र उस्तै समयमा युक्रेनी शहरहरूमा आक्रमण बढाएको युक्रेनी पक्षले दाबी गरेको छ।
पेरिसमा सम्पन्न ‘सङ्कल्पको गठबन्धन’ शिखर सम्मेलनपछि जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत थप विवरण सार्वजनिक गर्दै सेप्टेम्बरको पहिलो पाँच दिनमै रुसले १३०० भन्दा बढी ड्रोन, करिब ९०० निर्देशित बम र ५० प्रकारका मिसाइल युक्रेनमा प्रहार गरेको बताए। उहाँका अनुसार देशका १४ क्षेत्रमा हवाई आक्रमण भएका छन्।
अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पले पनि त्यही दिन मिडियासँग कुरा गर्दै, “केही न केही हुन्छ, तर दुबै पक्ष अझै तयार देखिँदैनन्। हामी यसलाई गर्नेछौँ,” भन्नुभएको थियो। तर वार्ताको समयसीमा भने वासिङ्टनले अझै तोकेको छैन।
युद्धको लम्बिंदो चक्रबीच एकातिर आक्रमणको आँकडा बढिरहेको छ भने अर्कोतर्फ वार्ता सम्भावना अझै अनिश्चित छ। यस्तो स्थितिमा बैठक ‘कहाँ’ हुने भन्नेभन्दा पनि ‘कसरी र कहिले’ हुने भन्ने प्रश्न अझ गहिरिँदै गएको छ।