समाचार विदेश

गाजामा सामूहिक हत्या र भोकमरी: टर्कको इजरायलमाथि कडा प्रहार

गाजामा सामूहिक हत्या र भोकमरी: टर्कको इजरायलमाथि कडा प्रहार

संयुक्त राष्ट्रसङ्घका मानव अधिकार प्रमुख भोल्कर टर्कले गाजाबारे इजरायली अधिकारीहरूले सार्वजनिक गरिरहेका ‘नरसंहारको बयानबाजी’ लाई गम्भीर खतरा बताउँदै यसको तत्काल अन्त्यका लागि अन्तर्राष्ट्रिय समुदायलाई निर्णायक कदम चाल्न आग्रह गर्नुभएको छ। सोमबार जिनेभामा सुरु भएको संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को ६०औँ सत्रलाई सम्बोधन गर्दै उहाँले कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रलाई ‘पहिल्यै चिहानमा परिणत’ भएको भन्दै चर्को आलोचना गर्नुभयो।

टर्कका अनुसार गाजामा इजरायली कारबाहीका कारण सामूहिक हत्या, अवर्णनीय पीडा, व्यापक विनाश र जीवनरक्षक सहायता अवरुद्ध गरिएको छ। उनले नागरिकलाई भोकमरीतर्फ धकेलिएको, पत्रकार, संयुक्त राष्ट्रसङ्घका कर्मचारी र गैरसरकारी संस्थामा संलग्न कामदारहरू मारिएको आरोपसमेत लगाए। “वरिष्ठ इजरायली अधिकारीहरूले खुलेर नरसंहारतर्फ उक्साउने भाषण गरेको र प्यालेस्टिनीप्रति अपमानजनक शब्द प्रयोग गरेको देख्दा म गम्भीर चिन्तित छु,” टर्कले भने।

हमासको घातक आक्रमणपछि सुरु भएको युद्ध करिब दुई वर्ष पुगेको सन्दर्भमा टर्कले क्षेत्र शान्तिको माग गरिरहेको भन्दै अब थप सैन्यीकरण, कब्जा र दमनले हिंसा र आतङ्क मात्र बढाउने चेतावनी दिए। अन्तर्राष्ट्रिय न्यायालयले आदेश गरेअनुसार इजरायलले नरसंहारका कार्य रोक्ने, उक्साउनेलाई सजाय दिने र गाजामा पर्याप्त सहायता पुर्‍याउने कानूनी दायित्व रहेको भन्दै उनले अन्तर्राष्ट्रिय समुदायलाई आफ्नो जिम्मेवारीबाट पन्छिएको आरोप लगाए।

यसैबीच, इजरायली सेनाले आइतबार गाजा सहरस्थित आवासीय टावर ब्लकमा लगातार तेस्रो दिन बम आक्रमण गरेको छ। प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पट्टीका शहरी क्षेत्रमा आक्रमणलाई अझ गहिरो बनाइने घोषणा गरेसँगै टर्कको चेतावनी आएको हो। गत महिना गाजामा आधिकारिक रूपमा अनिकाल घोषणा गरिएको थियो, जहाँ करिब १० लाख मानिस बसोबास गर्छन्। संयुक्त राष्ट्रसङ्घले निरन्तर आक्रमणले ठूलो मानवीय संकट निम्त्याउने चेतावनी दिएको छ।

“नरसंहार रोक्न निर्णायक कदम कहाँ छन्?” भन्दै टर्कले हतियार आपूर्ति तुरुन्त बन्द गर्नुपर्नेमा जोड दिए। उनका अनुसार, युद्धका बीच इजरायलतर्फ हतियारको प्रवाह जारी रहनुले अन्तर्राष्ट्रिय कानून उल्लङ्घनको जोखिम झन् बढाउनेछ। गाजामा बढ्दो मानवीय संकटसँगै विश्व समुदायले अझ ठोस र नतिजामुखी कदम चाल्नुपर्ने चेतावनी दिँदै उनले भनाइ टुङ्ग्याए।