जेनजी आन्दोलनपछि नेताहरु ‘सुरक्षा हारगुहार’ मा, बालुवाटारदेखि भैंसिपाटीसम्म हेलिकोप्टर चलखेल!
जेनजी आन्दोलनले शीर्ष राजनीतिक दलका नेताका निवासलाई निशाना बनाउन थालेपछि नेताहरू स्वयम् सुरक्षा व्यवस्था कडा पार्न सक्रिय भएका छन्। प्रहरी र सेनाका प्रमुखहरूलाई टेलिफोनमार्फत तत्काल प्रबन्ध मिलाइदिन आग्रह गरिएको एक उच्च सुरक्षा स्रोतले जानकारी दिएको छ।
सोमबारदेखि सुरु भएको आन्दोलनको क्रममा सत्तारूढ दलका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको बालुवाटारस्थित निवासमा आगजनी प्रयास भएको थियो भने, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको निवाससमेत तोडफोडमा परेको थियो। त्यस्तै, प्रमुख प्रतिपक्षी नेता पुष्पकमल दाहालको घरमा ढुंगामुढा भएको पुष्टि भएको छ। यी घटनापछि एमाले, कांग्रेस र माओवादीका विभिन्न तहका नेताहरूले सुरक्षा निकायलाई आफ्नो र परिवारको सुरक्षाबारे हारगुहार गर्न थालेको स्रोतले बताएको हो।
नेपाल प्रहरीका एक वरिष्ठ अधिकारीले भने, “नेताहरू मात्र होइन, केही उच्च पदस्थ कर्मचारीहरूले समेत सुरक्षा प्रबन्धको माग गर्नुभएको छ। कतिपयले परिवार स्थानान्तरणका लागि आग्रह गर्नुभएको छ, जसलाई सेनासँग समन्वय गर्न सल्लाह दिएका छौं।”
मंगलबार बिहानदेखि विशेष रूपमा मन्त्री आवास क्षेत्र भैंसिपाटी र बालुवाटार वरिपरिको क्षेत्रमा पटक–पटक हेलिकोप्टरको आवतजावत देखिएको छ। अधिकारीहरूको भनाइअनुसार, यो प्रक्रिया सोमबारदेखि नै सुरु भएको हो र चारवटै सुरक्षा निकाय परिचालनमा छन्।
स्रोतका अनुसार सेनाका उच्च अधिकारीहरू समेत प्रत्यक्ष रूपमा नेताहरूको सुरक्षामा संलग्न छन्। आन्दोलन अझै अज्ञात दिशामा विकसित भइरहेकाले आगामी दिनमा सुरक्षा निकायलाई थप दबाब पर्ने अनुमान गरिएको छ।