प्रदेशसभा भवनमै आगजनी ! मधेशमा आक्रोशको ज्वाला दलका अफिस र नेताको घरमा फैलियो!

मधेश प्रदेशसभाको प्रशासनिक भवनमा मङ्गलबार भएको आन्दोलन हिंसात्मक रूप लिँदै तोडफोड र आगजनीसम्म पुगेको छ। प्रदर्शनकारीहरूले प्रदेशसभाको मुख्य गेट र भित्तामा क्षति पुर्याउँदै कार्यालयभित्रै आगो लगाएका प्रहरी प्रशासनले जनाएको छ।
यसअघि सोही आन्दोलनकै क्रममा एमाले नेता रघुवीर महासेठको जनकपुरस्थित घरमा आक्रमण गरी आगजनी गरिएको थियो। त्यस्तै, नेपाली कांग्रेसको धनुषा जिल्ला पार्टी कार्यालयमा पनि प्रदर्शनकारीहरूले तोडफोडपछि आगो लगाएको प्रहरीले पुष्टि गरेको छ।
स्थितिलाई नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको भए पनि विभिन्न ठाउँमा एकैसाथ आक्रमण हुँदा क्षति न्यूनिकरण गर्न चुनौती रहेको सुरक्षाकर्मीहरूको भनाइ छ। आन्दोलनकारीहरूले मधेश प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयको कार्यालयमा समेत तोडफोड गरेको पुष्टि भएको छ।
प्रदेशको राजधानी जनकपुरधाममा राजनीतिक दलहरूको संरचना, नेताहरूका घर र सरकारी कार्यालयहरू प्रत्यक्ष निशाना बनाइँदा सुरक्षा व्यवस्थाको कमजोरीमाथि प्रश्न उठ्न थालेको छ। स्थानीयहरूका अनुसार, स्थिति अन्यत्र फैलिने हो कि भन्ने डर अझै कायम छ।