समाचार

देउवाको बूढानीलकण्ठ निवासमा आगजनी - सेनासम्म खटियो!

देउवाको बूढानीलकण्ठ निवासमा आगजनी - सेनासम्म खटियो!

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निजी निवासमा प्रदर्शनकारीले आगजनी गरेका छन्। प्रहरीले दिएको जानकारीअनुसार, आक्रोशित भीड निवासभित्र पसेर तोडफोड गर्दै आगो लगाएको हो।

घटनास्थलमा रहेका स्थानीयबासीहरूले घरभित्र आगो फैलिएको देखेको बताए। आगजनीपछि स्थिति नियन्त्रणमा लिन नेपाली सेनाको हेलिकोप्टर केहीबेरअघि त्यहाँ पुगेको प्रहरीले पुष्टि गरेको छ। बिहानैदेखि देउवा निवास वरपर प्रदर्शनकारी जम्ने र तोडफोडको प्रयास गर्ने गतिविधि देखिएको थियो।

यसअघि उर्जामन्त्री दीपक खड्काको घरमा समेत प्रदर्शनकारीले आगजनी गरेका थिए। घटनाक्रम क्रमशः उच्च राजनीतिक नेतृत्वका आवाससम्म पुग्नुले आन्दोलन अझै नियन्त्रणभन्दा बाहिर गएको स्पष्ट पारेको छ।

काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता शेखर खनालले शीर्ष नेता र सार्वजनिक सम्पत्तिमा तोडफोड तथा आगजनी भएको उल्लेख गर्दै विस्तृत विवरण संकलन भइरहेको जानकारी दिए।

राजधानीमै उच्चस्तरीय राजनीतिक नेतामाथि भएको सीधा आक्रमणले मुलुकको राजनीतिक संकट नयाँ तहमा पुगेको संकेत गरेको छ। अब राज्य संयन्त्रले सुरक्षा र राजनीतिक समाधानबीच सन्तुलन कसरी कायम गर्छ भन्ने प्रश्न थप गहिरिँदै गएको छ।