न्यायालय जलेपछि आन्दोलन नयाँ मोडमा : सर्वोच्चदेखि जिल्ला अदालतसम्म धुवाँ मात्र धुवाँ

काठमाडौंमा जारी ‘जेनजी पुस्ता’को प्रदर्शन सोमबार हिंसात्मक बिन्दुमा पुगेपछि मुलुकका सर्वोच्च न्यायिक संरचनामै प्रत्यक्ष प्रहार भएको छ। सर्वोच्च अदालत परिसरमा रहेका गाडी तोडफोडपछि आगजनी गरिएको सर्वोच्चका सहप्रवक्ता निराजन पाण्डेले पुष्टि गर्नुभयो। उहाँका अनुसार कार्यालय वरिपरि रहेका साधन तथा संरचना पनि क्षतिग्रस्त भएका छन्।
त्यही क्रममा आन्दोलनकारीले महान्यायाधिवक्ता कार्यालयमा समेत प्रवेश गरी तोडफोड र आगजनी गरेका छन्। त्यस्तै, विशेष अदालत र काठमाडौं जिल्ला अदालतमा पनि आगजनी भएको प्रहरीले जनाएको छ। दुवै अदालतमा रहेका कागजात तथा फाइलहरू बाहिर निकालेर जलाइएका दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्।
न्यायालय र कानुनी संरचनामाथि भएको यस्तो आक्रमणलाई सुरक्षा निकायले राज्यको विधि-शासनमै प्रत्यक्ष चुनौतीका रूपमा लिएको छ। अघिल्ला दिनहरूमा प्रदर्शनकारीहरूले सिंहदरबार, संसद् भवन र विभिन्न मन्त्रालयहरूलाई लक्ष्य बनाए पनि सोमबारको घटनाले न्यायपालिका स्वयं प्रत्यक्ष घेरिन पुगेको छ।
राजधानीमा देखिएको हिंसात्मक स्वरूप र संवैधानिक अङ्गहरूमाथिको आक्रमणले अब आन्दोलनलाई शान्तिपूर्ण ढङ्गमा समाधान गर्ने सम्भावनाबारे गम्भीर प्रश्न उठाएको छ। न्यायको प्रतीक मानिएको संस्थामाथि भएको आक्रमणले आन्दोलनको स्वरूप र यसको भविष्यलाई अझै जटिल बनाइदिएको देखिन्छ।