समाचार

ओलीले बनाएको डेढ अर्बको दमक भ्युटावरमा आगो!

ओलीले बनाएको डेढ अर्बको दमक भ्युटावरमा आगो!

प्रधानमन्त्री पदबाट हालै राजीनामा दिएका र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापाको दमकस्थित भ्युटावर आन्दोलनरत युवाहरूको निशानामा परेको छ। स्थानीय प्रहरीका अनुसार प्रदर्शनकारीहरूले बिहानै भ्युटावरमा तोडफोड गर्दै आगजनी गरेका छन्।

सरकारी निकायले प्रारम्भिक विवरण संकलन गर्दै गरेको बताइएको छ भने क्षतिको यथार्थ विवरण अझै सार्वजनिक भएको छैन। तर, दमकको चिनारीका रूपमा स्थापित उक्त संरचना केही वर्षअघि ओलीकै सक्रिय पहलमा बनेको थियो। तत्कालीन प्रधानमन्त्री ओलीको चाहनामा करिब डेढ अर्ब रुपैयाँभन्दा बढीको सरकारी खर्चमा यो भ्युटावर निर्माण गरिएको थियो।

भ्युटावर सुरु देखिनै विवादमा तानिएको संरचना मानिन्छ। खर्चको औचित्य, निर्माण प्रक्रिया र स्थानीय प्राथमिकता भन्दा अलग्गै यसलाई अघि बढाइएको भन्दै नागरिक समाज र विपक्षी दलहरूले आलोचना गरेका थिए। आज भएको आगजनीले त्यस विवादित इतिहासलाई फेरि स्मरण गराएको छ।

सुरक्षा निकायले घटनापछि अतिरिक्त प्रहरी परिचालन गरी वरिपरि घेराबन्दी गरेको छ। घटनाबारे विस्तृत अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ।