हेटौँडामा आन्दोलनकारीद्वारा चार मन्त्रालय र अख्तियार कार्यालयमा आगजनी
बागमती प्रदेश राजधानी हेटौँडामा आन्दोलनकारीहरूले एकैपटक चार मन्त्रालयमा आगजनी गरेका छन्। हेटौँडा उपमहानगरपालिका–१, चौकीटोलस्थित एउटै भवनमा रहेका खानेपानी, ऊर्जा तथा सिँचाइ, भौतिक पूर्वाधार विकास, कृषि तथा पशुपन्छी विकास र श्रम, रोजगार तथा यातायात मन्त्रालयमा मंगलबार दिउँसो आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले पुष्टि गरेको छ।
यस्तै, मन्त्रालयसँगै रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयलाई समेत आगजनीको निशाना बनाइएको छ। घटनापछि भवनहरूबाट बाक्लो धुवाँ निस्किएको र सुरक्षाकर्मीहरू तत्काल नियन्त्रणमा लिन खटिएका देखिएका थिए।
स्थानीय प्रशासनले दिउँसो कफ्र्यु आदेश जारी गरेलगत्तै भीड उग्र बनेर तोडफोड र आगजनीतर्फ उत्रिएको मकवानपुर जिल्ला प्रशासन कार्यालयका एक अधिकारीले बताए। आन्दोलनको तीव्रता बढ्दै गएपछि सुरक्षाकर्मीलाई थप परिचालन गरिएको छ भने घटनास्थल वरिपरि आवागमन कडाइका साथ रोकिएको छ।
प्रदेश राजधानीमै सरकारी निकायहरू जलाइएपछि यस घटनाले राजनीतिक अस्थिरता र राज्यप्रतिको असन्तुष्टिको रूप गहिरिँदै गएको संकेत दिएको छ। आगामी दिनमा वार्ता र संवादतर्फको ठोस पहलले मात्र अवस्था सामान्य बन्न सक्ने देखिन्छ।