समाचार

आधुनिक धरान स्थापनाको एक सय २३ वर्ष

आधुनिक धरान स्थापनाको एक सय २३ वर्ष

आधुनिक धरानको स्थापना भएको एक सय २३ वर्ष पुगेको अवसरमा आजदेखि धरान उत्सव सुरु भएको छ।

पुस २४ सम्म सञ्चालन हुने उत्सवको धरानकी ज्येष्ठ नागरिक एक सय तीन वर्षीया चन्द्रमाया कटुवालले पानसमा बत्ती बालेर उद्घाटन गरिन्।

धरान उपमहानगरपालिकाको आयोजनामा सुरु भएको उत्सवमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले धरान कला र सांस्कृतिक विविधतामा अगाडि रहेको बताए ।

धरान उपमहानगरका प्रमुख हर्कराज राईले काठमाडौँ महानगरमा वृक्षरोपण, खोलानाला संरक्षणजस्ता महत्त्वपूर्ण काम भइरहेको उल्लेख गर्दै यसले महानगरका भावी पुस्तालाई फाइदा पुग्ने विश्वास व्यक्त गरे ।

नगरप्रमुख राईले सङ्घीय र प्रदेश सरकारले स्थानीय तहलाई विकास कार्यमा सहयोग पुर्‍याउनुपर्ने बताए । उनले धरानको विकासमा निरन्तर नगरवासीको सहयोग पाउने आशा व्यक्त गरे।

धरानका उपप्रमुख आइन्द्रविक्रम बेघाले धरान सांस्कृतिक विविधता, धार्मिक विविधता भएको सहरका रुपमा रहेको र सँधै सबै मिलेर, एकअर्कालाई सम्मान गरेर बस्ने बताए।

उत्सवको अवसरमा वरिष्ठ गायक दीप श्रेष्ठसहित एक दर्जनभन्दा बढीलाई सम्मान गरिएको थियो । उत्सवको अवसरमा विभिन्न सङ्घ संस्थाले झाँकीसहित बजार परिक्रमा गरेका छन् ।

बालेन्द्र शाह  धरान उपमहानगरपालिका हर्कराज राई