विचार

रवि लामिछानेको पतन: ठगीदेखि राजनीतिक संकटसम्म, रास्वपाको भविष्य?

रवि लामिछानेको पतन: ठगीदेखि राजनीतिक संकटसम्म, रास्वपाको भविष्य?

रवि लामिछाने, एक पूर्व अमेरिकी नागरिक र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष, आज नेपाली समाजका सबैभन्दा विवादास्पद र आलोचनात्मक पात्र बनेका छन्। उनको प्रारम्भिक राजनीतिक उचाइ र जनतासँगको आकर्षण अब पूर्णतः खण्डित भएको देखिन्छ। सहकारी ठगीको आरोपमा प्रहरी हिरासतमा रहेका लामिछानेले जनतालाई धोका दिएको मात्र होइन, आफ्नो पार्टीलाई समेत खतरामा पारेका छन्।

रास्वपाको भविष्य अब धुमिल देखिन्छ। लामिछानेले नेतृत्व गरेको यो पार्टी अब छिट्टै विभिन्न खेमामा विभाजित हुने सम्भावना प्रबल छ। जब राजनीतिक नेतृत्व नै भ्रष्टाचार र ठगीमा मुछिन्छ, त्यस्तो पार्टीले जनताको विश्वास र समर्थन गुमाउनु स्वाभाविक हुन्छ। लामिछानेले आफूलाई भ्रष्टाचारबाट मुक्त बनाउन प्रयास गरे पनि उनका गतिविधिले स्पष्ट रूपमा देखाइरहेको छ कि उनी अब नेपाली राजनीति र समाजका लागि एक नकारात्मक व्यक्तित्वको रूपमा स्थापित हुँदैछन्।

रवि लामिछानेले सहकारी ठगीको मुद्दामा आफू निर्दोष रहेको दाबी गरे पनि, अदालतले उनलाई दोषी ठहर गर्ने सम्भावना धेरै छ। उनका विरुद्धमा आएका तथ्य र प्रमाणले उनलाई कानूनी रूपले बचाउन कठिन बनाउँदैछन्। सहकारी ठगीजस्तो गम्भीर मुद्दामा संलग्न रहेको व्यक्तिले देशलाई नेतृत्व गर्न सक्ने भन्ने कुरा अब भ्रम मात्र रह्यो। लामिछानेको पछिल्लो गिरफ्तारीले उनलाई समाजको नैतिक नेतृत्वको हैसियतबाट पूर्णतः हटाएको छ।

सहकारीमा ठगी गरेर आफ्नो राजनीतिक यात्रा शुरु गर्नु, अनि जनताको दुःख र आशालाई मिचेर अगाडि बढ्नु रवि लामिछानेको प्रमुख गल्ती हो। उनले सहकारीको पैसाबाट धोका पाएका गरिब र मध्यमवर्गीय जनतालाई अन्याय गरेका छन्। सहकारी ठगीमा पीडित भएका लाखौं नेपाली नागरिकहरूका आँखामा रवि लामिछाने अब एक प्रमुख खलनायकको रूपमा देखिन थालेका छन्। उनीमाथि परेको आरोप र जनतासँगको धोका अब उनले सिधा कुरा गर्न नसक्ने स्थिति बनेको छ।

रास्वपाको अध्यक्ष भएर उनले जनतालाई परिवर्तनको सपना देखाए पनि, वास्तविकतामा त्यो सपना अब टुट्न थालेको छ। लामिछानेले जनताको पैसाबाट मोजमस्ती गरेको कुरा सार्वजनिक हुँदा, उनले गरेको राजनीतिक बयानबाजी केवल जनतालाई धोका दिनका लागि भएको पुष्टि हुन्छ। यसैबीच, लामिछानेले प्रहरीले हिरासतमा राख्दा आफूलाई दोषमुक्त गराउन केपी ओलीविरुद्ध दिएको बयानलाई धेरैले बालबालिकाको जस्तो अपरिपक्व व्यवहारका रूपमा लिएका छन्। केपी ओलीले उनलाई दुई पटक उपप्रधानमन्त्री बनाउने मौका दिए, तर लामिछानेले प्रहरी हिरासतमा ओलीको आलोचना गरेर आफ्नो कृतघ्नता र अपरिपक्वता देखाए। यस्तो चालको कुनै पनि राजनीतिक लाभ छैन; बरु यसले जनतामा उनको चरित्रप्रति गम्भीर प्रश्न खडा गरेको छ।

रास्वपाको भविष्य पनि लामिछानेकै भविष्य जस्तो नै कमजोर देखिन्छ। लामिछानेको नेतृत्वले पार्टीलाई एकताबद्ध राख्न सकेन, र अब यो पार्टी विभाजनको मोडमा छ। जनताले लामिछाने र उनको पार्टीलाई अब विश्वास गर्न छोडेका छन्। आउँदै गरेको निर्वाचनमा रास्वपाले कुनै पनि सीट जित्न सक्ने सम्भावना न्यून छ। लामिछानेको गिरावटसँगै रास्वपाको अस्तित्व पनि संकटमा परेको छ, र यसको सानो सानो खेमामा विभाजन हुने सम्भावना प्रबल छ। पार्टीभित्रका असन्तुष्ट सदस्यहरू अब छुट्टिएर नयाँ पार्टी बनाउने तयारीमा छन्।

रवि लामिछानेले नेपालको राजनीतिमा केहि समयका लागि ठूलो चर्चा पाएका थिए, तर उनको राजनीतिक यात्रा अन्ततः असफल साबित हुँदैछ। उनले नेपाली समाजलाई धोका दिए, र त्यो धोका अब उनलाई नै भारी पर्न थालेको छ। भविष्यमा नेपाली जनताले उनलाई क्षमा गर्ने सम्भावना निकै कम देखिन्छ, र उनी अब नेपाली समाजको आँखामा एक नकारात्मक पात्रको रूपमा सदाका लागि चिनिनेछन्।

चाहे रवि होस् या धनराज, जुनसुकै पार्टीको सदस्यता लिएका भए पनि, ठग भनेको ठग नै हो। यस्ता ठगलाई सरकारले हदैसम्मको कारवाही गरी जेलमा पठाउनुपर्छ। केही मानिसहरू सडकमा आएर समर्थन गरे भन्दैमा कानुनी कारवाही रोक्न सकिन्न। जब छविलाल रजकजस्ता व्यक्तिहरू पक्राउ पर्दा न्याय ठानिन्छ, तर पार्टी सभापति पक्राउ पर्दा प्रतिसोध भनिन्छ भने, त्यो नैतिकताको दोहोरो मापदण्ड हो। यही हो तिमीहरूको "जान्नेलाई छान्ने" सिद्धान्त? बालेनले गरीबलाई कुट्नु, रविले सहकारी लुट्नु, र हर्क साम्पाङले खोलामा गिट्टी कुट्नु—के यिनै हुन् नयाँ पुस्ताका नेताहरू, जसले देशको भविष्य कोर्ने दाबी गर्छन्?


यो सामग्री नेकपा एमालेका युवा नेता श्री राम प्रसाद रिजालले तयार पार्नुभएको हो। यस लेखमा व्यक्त विचार उहाँका व्यक्तिगत धारणा हुन्, जसले नेपाल आजा वा उहाँको राजनीतिक पार्टीको आधिकारिक दृष्टिकोणलाई प्रतिनिधित्व गर्दैन।