कभर स्टोरी

प्रचण्डद्वारा मुलुकप्रति गद्दारी, अस्थिर चरित्रले संकट सिर्जना

प्रचण्डद्वारा मुलुकप्रति गद्दारी, अस्थिर चरित्रले संकट सिर्जना

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले करिब एक वर्षको अवधिमा तीनपटक सत्ता समीकरण परिवर्तन गरेका छन्। ०७९ को आम चुनावपछि मुलुकलाई विकासका लागि दिशा दिने र समृ्द्धि ल्याउने प्रतिबद्धता गरेका दलहरुले मुलुकलाई अस्थिरताको संकटमा पुर्‍याउने काम गरिरहेका छन्। 

आमचुनावपछिको प्रधानमन्त्री प्रचण्डले एक वर्षमा तीन पटक सत्ता समीकरण परिवर्तन गरे पनि मुलुकमा व्याप्त चरम भ्रष्टाचार, बेथिति र अस्थिरता थप बढ्दै गएको छ। प्रचण्ड प्रधानमन्त्री बनेको यो एक वर्ष बीचमा जनतामा चरम निरासा छाएको छ भने राजनीतिक अन्योलता बढेको छ। 

आफ्नो सत्ता स्वार्थका लागि जुनसुकै कदम पनि चाल्‍न तयार रहेका प्रधानमन्त्री प्रचण्ड आफैंले आफू अस्थिरताका लागि नै जन्मिएको बताएका छन्।  सत्ता समीकरण परिवर्तन गरेकै दिन सोमबार काठमाडौंमा शहीद प्रतिष्ठान नेपालले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफू जीवित रहेसम्म मुलुकभर अशान्ति रहिरहने बताएका हुन्।  उनले भने, ‘मैले अन्तिम सास नफर्क्दासम्म देशमा अशान्ति रहिरहने छ।' 

प्रधानमन्त्री दाहालले पनि कार्यक्रमकै दिन व्यवस्था अवरुद्ध भएको भन्दै अहिलेको अवस्थाप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनले निरन्तरताले मात्रै माओवादी केन्द्र फस्टाउन नसक्ने बताउँदै भने, 'माओवादीले निर्बाध अस्तित्वबाट स्थायित्व पाउन सक्दैन। हामी विद्यमान व्यवस्थालाई बिथोल्ने र नयाँ बाटो बनाउने शक्ति हौं।'

प्रधानमन्त्री प्रचण्डको यो एक वर्ष गद्दारीको वर्ष रह्यो। उनले राजनीतिक गद्दारी गर्न कसैलाई बाँकी राखेनन्। कांग्रेससँग गठबन्धन गरेर चुनाव लडेका उनले एमालेसँग मिलेर सरकार बनाएर। उनले नैतिक र राजनीतिक दायित्व गठबन्धनबाट पहिलो बनेको पार्टी कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री पदका लागि समर्थन गर्नु थियो। यो नैतिक दायित्वबाट च्युत भएर प्रचण्डले एमालेको समर्थनमा प्रधानमन्त्री पद हात पारे, एमालेसँग मिलेर सरकार बनाए।

उक्त गठबन्धनलाई निरन्तरता दिन नसकेर फेरि राष्ट्रपति निर्वाचनमा कांग्रेससँग गठबनधन गरे भने फेरि एक वर्ष नपुग्दै एमालेकै पोल्टामा गएका छन्। यसरी उनले दलहरुलाई मात्र नभएर राष्ट्रलाई गद्दारी गर्दै मुलुकको विकासलाई अवरुद्ध गर्ने र अस्थिरतामा सत्ता स्वार्थ हात पारिरहने दाउ देखिन्छ। 

प्रधानमन्त्री प्रचण्डले अँगालेको विदेश नीति भनेकै कूटनीतिमा राजनीति मिसाउने र सन्तुलित परराष्ट्र नीतिलाई बेवास्ता गर्दै आफू अनुकूल कूराजनीतिक खेलमा लागेको स्पष्ट भएको छ। पछिल्लो समय वाम एकताका नाममा चिनियाँ स्वार्थ  पूरा गर्ने प्रधानमन्त्री प्रचण्डले मुलुकलाई उत्तरी छिमेकी चीनसँग बफादार बन्‍ने रणनीति अवलम्बन गरेका छन्। प्रधानमन्त्री प्रचण्डको यस्तो व्यवहार न त मुलुकलाई न त कुनै अमुक पार्टीलाई नै हितकर हुनेछ।