समाचार

त्रिशूलीमा हराएका केही शव नदीमा बगेर भारतीय भूमिमा

त्रिशूलीमा हराएका केही शव नदीमा बगेर भारतीय भूमिमा

चितवन, १३ असार - नारायणगढ-मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा खसेका दुई बसका यात्रुमध्ये अहिलेसम्म १४ जनाको शव भेटिएको अधिकारीहरूले बताएका छन्। हराइरहेका बस अझै फेला परेका छैनन्।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भेटिएका शवमध्ये सातवटा शवको सनाखत भएको बताए। उनले भने, "सनाखत भएका सात शवमा तीन जना भारतीय नागरिक छन् भने बाँकी नेपाली हुन्।"

हराइरहेका अन्य यात्रु तथा दुवै बसको खोजी कार्य सोमवारलाई स्थगित गरिएको र मङ्गलवार पुनः सुरु गरिने जनाइएको छ।

शुक्रवार सबेरै काठमाण्डूबाट गौर जाँदै गरेको र वीरगन्जबाट काठमाण्डूतर्फ आउँदै गरेका दुई बस पहिरोले बगाएर त्रिशूली नदीमा खसेका थिए। ती बसमा कम्तीमा ६५ जना यात्रु चढेको अनुमान गरिएको छ। यसअघि अधिकारीहरूले ५१ जना यात्रु रहेको बताएका थिए। नदीमा खस्दै गर्दा काठमाण्डूबाट गौर जाँदै गरेको बसका तीन यात्रु भने बाँच्न सफल भएका थिए।

केही शव नारायणी नदीमा बगेर भारत पुगेको आशङ्का

अधिकारीहरूले केही शव नारायणी नदीमा बगेर भारत पुगेको आशङ्का व्यक्त गरेका छन्। शुक्रवार दिनभरिको खोजीका क्रममा सुरक्षाकर्मीहरूले एउटा बसमा प्रयोग गरिएको पर्दा र केही यात्रुका कपडा मात्रै फेला पारेका थिए।

अँध्यारो भएपछि खोजी कार्य स्थगित भएको र शनिवार बिहान पुनः सुरु गरिएको थियो। शनिवार सुरक्षाकर्मीहरूले तीन जनाको शव फेला पारे भने आइतवार खोजीको क्रममा थप तीन शव भेटिए।

सोमवार बिहानसम्म कुल ११ वटा शव फेला परेका थिए। तीमध्ये दुइटा शव नेपाली सीमा पार गरेर गण्डक नहरको भारततर्फको क्षेत्रमा पुगेको फेला परेको थियो।

घटनास्थलभन्दा ५० किलोमिटर तल खोजी

सोमवार बिहानैदेखि सुरक्षाकर्मीहरू विभिन्न उपकरणसहित घटनास्थलभन्दा ५० किलोमिटर तल खोजीमा जुटेका छन्। खोजी कार्यमा र्‍याफ्टिङ बोट, दुरबिन र पानीभित्र हेर्न मिल्ने क्यामराहरू जडान गरिएका उपकरणहरू प्रयोग गरिएको जनाइएको छ। पानी धमिलो भएकाले पानीभित्र हेर्ने क्यामराहरू खासै उपयोगी नभएको अधिकारीहरूले बताएका छन्।