समाचार

नेताहरूको मृत्युको कामना: प्रधानमन्त्रीसहितका नेताहरूको फोटो राखेर यमराजको अनुष्ठान

नेताहरूको मृत्युको कामना: प्रधानमन्त्रीसहितका नेताहरूको फोटो राखेर यमराजको अनुष्ठान

काठमाडौं - धार्मिक अभियन्ता पुष्कर खतिवडा सोमबार पक्राउ परेका छन्। प्रधानमन्त्रीसहितका प्रमुख नेताहरूको मृत्युको कामनासहित यमराजको अनुष्ठान गरिरहेका बेला काठमाडौंस्थित आफ्नै घरबाट उनलाई पक्राउ गरिएको हो। 

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई सोमबार बिहान गिरफ्तार गरेको हो। जिल्ला परिसर काठमाडौंका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नवराज अधिकारीले खतिवडालाई घरबाटै नियन्त्रणमा लिएर हिरासतमा राखिएको पुष्टि गरे।

खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरूको फोटो राखेर मृत्युको कामना गर्दै अनुष्ठान गरेपछि उनलाई आपत्तिजनक गतिविधिका लागि पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ। 

खतिवडाले आफ्नो गिरफ्तारीको खबर सामाजिक सञ्जालमा लेख्न भ्याएका थिए। उनले लेखे, ‘मलाई भर्खरै प्रहरी वृत्त महाराजगञ्ज लगिएको छ। कामना गरौँ देश बनोस्।’

केही दिनअघि खतिवडाले नेताहरूको मृत्युको कामना गर्दै अनुष्ठान गर्न लागेको घोषणा पनि सामाजिक सञ्जालमार्फत गरेका थिए। आफूलाई धर्मगुरु र ज्योतिषका रूपमा परिचित गराउँदै आएका खतिवडा झापाबाट काठमाडौंमा बस्दै आएका छन्। 

यो घटना पछिल्लो समय धार्मिक स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको सन्दर्भमा उठिरहेका प्रश्नहरूलाई फेरि सतहमा ल्याएको छ।