कभर स्टोरी

नेपाल आज समाचार प्रभाब: चिनियाँ चञ्चले राजदूतको संदिग्ध अभिव्यक्तिको संसदमा विरोध

नेपाल आज समाचार प्रभाब: चिनियाँ चञ्चले राजदूतको संदिग्ध अभिव्यक्तिको संसदमा विरोध

नेपालका लागि चिनियाँ राजदूत चेन सोङले दिएका अभिव्यक्तिलाई लिएर नेपालको प्रतिनिधि सभामा सांसदहरूले प्रश्न उठाएका छन्। नेपाल आजले "विवादास्पद चिनियाँ राजदूत चेन सोङको असभ्य व्यवहार: मोहना अन्सारीले गरिन् कडा प्रतिवाद!" शीर्षकमा समाचार प्रकाशित गरेपछि यो विषय थप चर्चामा आएको हो। राजदूत सोङले कहिले पत्रकारलाई धम्की दिन्छन्, कहिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई बीआरआईको भाग हो भन्छन्।

पिठिउँमा चुर्ना परेजस्तै उनी चञ्चले स्वभावका छन्। उनको चञ्चले स्वभावका कारण उनी प्रायः विवादमा आउने गर्छन्। सामाजिक सञ्जाल एक्समा उनी सक्रिय रहने गर्छन् र दिनको प्रत्येक घण्टामा केही न केही पोस्ट गरिरहन्छन्। उनको सक्रियता सामाजिक सञ्जालमा सक्रिय मुकुन्द घिमिरे उर्फ 'मुकुन्दे' भन्दा पनि धेरै छ।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसदहरू रामहरि खतिवडा र सर्वेन्द्रनाथ शुक्लले राजदूत सोङको अभिव्यक्तिमाथि आपत्ति जनाउँदै उनलाई बोलाएर स्पष्टीकरण सोध्न सरकारलाई आग्रह गरेका छन्।

गत असार २८ गते चितवनको सिमलतालमा २ वटा बस दुर्घटना भई ६२ यात्रुसहित बेपत्ता भएको विषयमा राजदूत सोङले भद्दा कटाक्ष र व्यंग्य गरेको भन्दै सांसदहरूले आपत्ति प्रकट गरेका छन्।

सांसद खतिवडाले भने, “एक जना महामहिमले कूटनीतिक मर्यादा र आचार संहिता विपरीत अभिव्यक्ति दिन थाल्नुभएको छ। सर्च गर्ने टोलीलाई 'गुड लक अल द सर्च टिम' भनेर ट्वीटरमा लेख्ने गरिएको छ। बस नखोज चुम्बक खोज भन्ने गरिएको छ। कमसेकम नेपाललाई आपत पर्दा सहयोग गरौं, मानवीय संवेदनाको बारेमा बोलौं। अप्ठ्यारो परेको बेलामा हाँसी मजाकमा नउडाऔं भनेर म अनुरोध गर्न चाहन्छु। परराष्ट्र मन्त्रालयले सम्बन्धित राजदूतलाई बोलाएर स्पष्टीकरण लिनुहोस् भन्ने अनुरोध गर्न चाहन्छु।”

सिमलताल दुर्घटनामा बेपत्ता बस र यात्रुको खोजीमा नेपाल र भारतका टोली संयुक्त रूपमा खटिएका थिए। सो क्रममा बस खोज्न प्रयोग भएको चुम्बक समेत हराएपछि चिनियाँ राजदूत सोङले सामाजिक सञ्जाल एक्समा असभ्य टिप्पणी गरेका थिए।

सोही विषयलाई लिएर प्रतिनिधि सभाको बैठकमा लोसपाका सांसद सर्वेन्द्रनाथ शुक्लले गत असार २८ गते त्रिशूली नदीमा २ वटा बस दुर्घटना भएको विषयमा कूटनीतिक नियोगको व्यक्तिले कटाक्ष गरेको भन्दै सरकारको ध्यानाकर्षण गराए।

कुनै राजदूतको नाम नलिई उनले एकजना राजदूतले खोजीकार्यबारे सामाजिक सञ्जाल एक्समा व्यंग्य र मजाका उडाउने काम गरेको र त्यो कूटनीतिक मर्यादा विपरीत भएको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराए। ती राजदूतले ३ दिनदेखि लगातार सामाजिक सञ्जालबाट बस दुर्घटनाको विषयलाई लिएर व्यंग्य गरेकोले त्यसलाई नोटिसमा लिनुपर्ने बताए।

सांसद शुक्लाले भने, “७ दिनसम्म सय जनाभन्दा बढी ठुलो सङ्ख्याले खोजी गर्दा बस फेला नपार्नु दुर्भाग्यपूर्ण हो। तर त्योभन्दा पनि ठुलो दुर्भाग्यपूर्ण हो व्यंग्यपूर्ण अभिव्यक्ति। दुर्घटनाबाट कैयौँ गाउँबासी अझै शोकमग्न छन्। त्यो अप्रत्याहित घटनाबाट सबै शोकमग्न रहेको बेला एकजना महामहिमले खोजी कार्यको मजाक उढाएका छन्, सामाजिक सञ्जाल एक्सको पोष्टमा। यो हेर्दा मित्रले पीडाबोध गर्नु त कहाँ हो कहाँ, संयुक्त प्रयासलाई निरन्तर लेख्दै अपहेलित गर्ने काम भइरहेको छ सभामुख महोदय।”

सांसद शूक्लाले अगाडि भने, “यो कृत्य कुनैपनि देशको कूटनीतिक मर्यादा विपरीत हो। नेपालको नेतृत्वमा भएको यो खोजीकार्यलाई सफल भएपनि, असफल भएपनि त्यसको मजाक उडाउने कार्य निन्दनीय हो। यसबारे सरकारलाई मैले ध्यानाकर्षण गराएँ। अहोरात्र खटिइरहेको हाम्रो सुरक्षा निकाय, हाम्रो मित्रराष्ट्रका विज्ञहरूको टोलीले गरिरहेको कार्यहरूको लगातार ३ दिनदेखि व्यंग्य गर्ने काम भइरहेको छ, यसलाई नोटिसमा लिनुपर्छ र कूटनीतिक तरिकाबाट यसलाई रोक्नुपर्छ।”

पछिल्ला दिनमा सामाजिक सञ्जाल एक्समा चिनियाँ राजदूत चेन सोङले बस दुर्घटनाको विषयमा कटाक्ष गर्दै आएका छन्। उनले दिएका अभिव्यक्ति कूटनीतिक मर्यादा विपरीत रहेको सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पनि टिप्पणी गर्ने गरेका छन्। उनी बेला बखत नेपालका पत्रकारहरूसँग सामाजिक सञ्जाल एक्समा क्रिया–प्रतिक्रिया व्यक्त गरेर विवादमा पर्ने गरेका छन्।


अन्य विवादहरू


नेपाली पत्रकारसँग माफी माग्न माग:

चेन सोङले नेपाली पत्रकार गजेन्द्र बुढाथोकीले नेपालले चीनसँग ५% ब्याजदरमा ऋण लिएको भनी दाबी गरेकोमा औपचारिक माफी माग्न सार्वजनिक रूपमा माग गरेका थिए। यो आक्रामक दृष्टिकोण कूटनीतिक मापदण्डहरूको उल्लंघनको रूपमा हेरिएको थियो र पत्रकारलाई डराउनको लागि आलोचना गरिएको थियो।

नेपाल-भारत सम्बन्धबारे टिप्पणी:

राजदूतले नेपाललाई भारतको ठूलो बजार भएकोले "भाग्यशाली" भएको र भारतको नीति सधैं मैत्रीपूर्ण नभएको भन्ने टिप्पणी गरेका थिए। यी टिप्पणीहरू नेपालका परराष्ट्र नीतिमा हस्तक्षेपको रूपमा हेरिएको थियो र धेरै नेपाली अधिकारीहरू र नागरिकहरूले असन्तुष्टि व्यक्त गरेका थिए।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको बीआरआईसँगको सम्बन्धबारे टिप्पणी:

चीनका राजदूत चेन सोङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) को महत्त्वपूर्ण हिस्सा भएको बताउँदै आएका छन्। उनका यी दाबीहरू नेपाली अधिकारीहरूसँग सार्वजनिक असहमति भएका थिए, जसले परियोजनाको बीआरआईसँगको सम्बन्धलाई अस्पष्ट राखेका थिए।


समग्रमा:

चिनियाँ राजदूत चेन सोङका यस्ता विवादास्पद अभिव्यक्तिहरू र गतिविधिहरूले नेपालमा कूटनीतिक सम्बन्धमा चुनौती उत्पन्न गराएको छ। संसदमा सांसदहरूले उठाएका प्रश्नहरूले सरकारलाई राजदूतसँग कूटनीतिक स्पष्टीकरण माग्न बाध्य बनाएको छ। यो घटनाले कूटनीतिक मर्यादा र परराष्ट्र मामिलामा संवेदनशीलता आवश्यक पर्ने देखाएको छ।

चेन सोङ