राजनीति

एमाले र कांग्रेसको गठबन्धन विघटनको लक्षण, कार्कीको उद्घोष यस्तो छ

एमाले र कांग्रेसको गठबन्धन विघटनको लक्षण, कार्कीको उद्घोष यस्तो छ

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री एवम् नेपाली कांग्रेसका नेता केदार कार्कीले हालका मुख्यमन्त्री हिक्मत कार्कीविरूद्ध गम्भीर आरोपहरू लगाउँदै 'मुख्यमन्त्रीको मनपरीविरूद्ध संघर्ष गर्ने' घोषणा गरेका छन्। कार्कीले हालका मुख्यमन्त्रीले संविधानविपरीत सरकार बनाएको आरोप लगाएका छन्। यद्यपि सर्वोच्च अदालतले केदार कार्कीको समर्थन नगरे पनि, वर्तमान मुख्यमन्त्री र कोशी सरकारको गतिविधिप्रति कांग्रेसको असन्तुष्टि ठूलो छ। केदार कार्कीको घोषणाले असन्तुष्टिको आगोमा घिउ थपेको छ, जसले काठमाडौंसम्म पुग्ने सम्भावना छ र प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको गठबन्धनलाई प्रभावित गर्नेछ।

पूर्वमुख्यमन्त्री केदार कार्कीले बुधबार विराटनगरस्थित प्रदेश सभा सचिवालयमा पत्रकारहरूसँग कुरा गर्दै भने, "मुख्यमन्त्री हिक्मत कार्कीले यस पटकको बजेट केवल सेटिङ मिलेको ठाउँमा हालेका छन्, तर जनताले सेवा पाउने बजेट काटिएको छ। यो मनपरीविरूद्ध म संघर्ष गर्छु। पार्टी सरकारमा सामेल हुँदैछ भनेर मनपरी सहेर बसिन्न।"

गत वर्ष कांग्रेसमा विद्रोह गरेर एमालेको समर्थनमा प्रदेशको मुख्यमन्त्री बनेका केदार कार्कीले सरकारमा छँदा केही लोकप्रिय कार्यक्रमहरू घोषणा गरेर कार्यान्वयनमा लगेका थिए। दस वर्ष मुनिका बालबालिकाहरूको सबै उपचार प्रदेश सरकारले गर्ने घोषणा कार्कीले गरेका थिए, जुन कार्यक्रम उनको कार्यकालमा कार्यान्वयनमा आएको थियो।

तर, एमाले नेता हिक्मत कार्की मुख्यमन्त्री बनेपछि 'खर्च धान्न नसकिने' भन्दै यो कार्यक्रम कटौती गरिएको छ। पूर्वमुख्यमन्त्री कार्कीले आफ्नो कार्यकालमा यो कार्यक्रमबाट लाभान्वित हुने बालबालिकाको नाम र रोग समेत सुनाउँदै, अहिलेको सरकारले योजना काटेको तर मन्त्री र मुख्यमन्त्रीहरूको सुविधा र गाडीहरू भने थपेको आरोप लगाए।

"गरिब जनताका छोराछोरीको उपचार खर्च सरकारले गर्ने विषय धान्न नसकिने भन्दै काटिनु दुःखद् र आपत्तिजनक छ," पूर्वमुख्यमन्त्री कार्कीले भने, "मुख्यमन्त्रीले आफ्नो घर भएको गौरादहको पोखरीमा करोडौं बजेट खन्याउन सक्छन्, तर जनताका छोराछोरीको उपचार खर्च धान्न सक्दैनन्। यो बजेट मुख्यमन्त्री र मन्त्रीहरूको पेवा होइन।"

पूर्वमुख्यमन्त्री कार्कीले आफ्नो कार्यकालको पाँच महिनामा बालबालिकाको उपचारमा ५ करोड खर्च भएको र वर्षभरीमा जम्मा १५–१६ करोड खर्च हुने जानकारी गराएका थिए। उनले थपे, "सरकारी अस्पतालहरूमा सबै सेवा छैन। तत्काल सेवा सुरू गर्ने अवस्था पनि छैन। यस्तो बेलामा विशिष्टीकृत सेवा लिएका बालबालिकाको खर्च सरकारले व्यहोर्ने हो, जनताको पैसा जनताकै हितमा खर्च गर्ने हो।"

कांग्रेस नेता कार्कीले हालका मुख्यमन्त्री कार्कीले सवारी खरिद गर्ने, गाउँको पोखरीमा पैसा खन्याउने काम गरिरहेको भन्दै भने, "यस्ता अनुत्पादक क्षेत्रमा लगाउने बजेट भन्दा प्रदेशका बालबालिकाको स्वास्थ्यमा लगाइएको बजेट धेरै अर्थमा फलदायी हुन्छ। तर, त्यही पैसा काटेर मुख्यमन्त्रीले सेटिङ मिल्ने ठाउँहरूमा बजेट खन्याएका छन्। यसविरूद्ध म संघर्ष गर्छु।"

संघर्षको स्वरूपबारे भने पूर्वमुख्यमन्त्री कार्कीले धेरै कुरा खुलाएनन्। "लोकतान्त्रिक स्वरूपमा मेरो संघर्ष हुनेछ," उनले भने, "पार्टी सरकारमा छ भनेर म मनपरी हेरेर बस्न सक्दिनँ।"