कभर स्टोरी

१० भाइको बिचल्ली: एमालेभित्रको शक्ति संघर्षको पर्दाफास!

१० भाइको बिचल्ली: एमालेभित्रको शक्ति संघर्षको पर्दाफास!

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्र आन्तरिक गुटबन्दीका कारण उत्पन्न असन्तुष्टि झन् गहिरिँदै गएको छ। विशेषगरी '१० भाइ' भनेर चिनिने समूहको अवस्था अत्यन्तै कमजोर देखिएको छ।

पार्टीभित्रको गुटबन्दीलाई नियन्त्रण गर्न बाध्य बनेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा नवनियुक्त केन्द्रीय सदस्यहरूको शपथ ग्रहण समारोहमा गुटबन्दी सह्य नहुने चेतावनी दिएका छन्। एमालेभित्र पछिल्लो समय जिम्मेवारीको बाँडफाँडप्रति असन्तुष्टि जनाइएपछि ओलीले गुटबन्दी स्वीकार्य नहुने स्पष्ट सन्देश दिएका हुन्।

ओलीले आफ्नो मन्तव्यमा भने, “पार्टीमा गुटबन्दी कुनै पनि हालतमा स्वीकार्य छैन। म आफैं गुटबन्दी गर्दिनँ, र गुटबन्दी गर्न खोज्नेहरूलाई समेत छेउ पर्न दिन्न।”

ओलीले विगतमा गुटबन्दीका कारण पार्टी विभाजनसम्म भएको उल्लेख गर्दै, "लोकतन्त्रको नाममा गुटबन्दी गर्दा पार्टी कमजोर हुन्छ। हाम्रो पार्टीमा लामो समय गुटबन्दी भएकोले विभाजन भयो। अब पार्टीमा गुटबन्दीको कुनै ठाउँ छैन," भने।

यद्यपि, ओलीले आफूनिकट नेताहरूलाई बढी जिम्मेवारी दिइरहेको भन्दै अन्य नेताहरूलाई पाखा लगाएको आरोप लगाइएको छ। एमालेमा अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र विष्णु रिमालको प्रभावशाली समूह छ। उपाध्यक्ष विष्णु पौडेल र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको छुट्टै समूह छन् भने पूर्वमाओवादी केन्द्रबाट एमालेमा गएका नेताहरूको पनि छुट्टै गुट सक्रिय छ, जसको नेतृत्व उपाध्यक्ष रामबहादुर थापा 'बादल'ले गरेका छन्।

एमाले र नेकपा माओवादीबीच एकीकरण हुँदा माधवकुमार नेपाल र झलनाथ खनालको समूहमा रहेका नेताहरूले ‘१० भाइ’ समूहको निर्माण गरेका थिए। यस समूहमा डा. भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्ट, घनश्याम भुसाल, भीम आचार्य, अमृत बोहोरा, र रघुजी पन्त समावेश छन्। यी नेताहरूले पार्टी नेतृत्वको आलोचना गर्दै आएका थिए, तर हाल उनीहरू कमजोर अवस्थामा छन् र ओलीको विरोध गर्न सक्ने स्थितिमा छैनन्। 

ओलीले आफूनिकट गुरुप्रसाद बराललाई पार्टी उपाध्यक्षमा नियुक्त गरेका छन्, र पार्टी प्रदेश इन्चार्जहरूमा पनि आफ्नो पक्षधरहरूलाई प्राथमिकता दिएका छन्। 

लुम्बिनी र सुदूरपश्चिम बाहेकका पाँच प्रदेशमा नयाँ इन्चार्जहरूलाई अवसर दिइएको छ। पार्टी सचिवालयमा बाग्मती प्रदेशको इन्चार्ज मागेका उपाध्यक्ष सुरेन्द्र पाण्डे र कोशी प्रदेशको इन्चार्ज बन्न चाहने योगेश भट्टराईलाई भने इन्चार्ज पद दिइएन। पार्टीमा ओली र महासचिव शंकर पोखरेलको प्रभाव बलियो रहेको र उनीहरूकै मनपरेका नेताहरूले महत्वपूर्ण जिम्मेवारी पाउँदै आएको आरोप छ।

अन्ततः, आन्तरिक गुटबन्दीकै कारण लुम्बिनी प्रदेशका नेता लीला गिरी मुख्यमन्त्री बन्न सकेनन्, र ओली-शंकर पोखरेल समूहका चेतनारायण आचार्य मुख्यमन्त्री बने। यी घटनाहरूले पार्टीभित्रको गुटबन्दी र असन्तुष्टिको अवस्थालाई थप उजागर गरेको छ।