राजनीति

माओवादीभित्र विशेष महाधिवेशन राख्न माग

माओवादीभित्र विशेष महाधिवेशन राख्न  माग

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र भित्र विशेष महाधिवेशन बोलाउनुपर्ने माग बढ्दै गएको छ । पार्टी निर्माण, विचारको संश्लेषण र विधान अधिवेशनले अनुमोदन गरेको संगठनिक प्रतिवेदन कार्यान्वयन गर्न विशेष महाधिवेशनमा जानुपर्ने नेताहरूको भनाइ छ। असोज पहिलो हप्ता सम्पन्न प्रदेशस्तरीय केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त परामर्श समिति बैठकले नियमित महाधिवेशन भन्दा विशेष महाधिवेशनमा गएर आन्तरिक समस्या समाधान गर्नुपर्ने सुझाव नेतृत्वलाई दिएको थियो ।  केही नेताले नियमित महाधिवेशन नजिकिइसकेकाले विशेष महाधिवेशनमा जानु उपयुक्त नहुने सुझाव दिएका थिए ।

 

परामर्श समिति बैठकबाट आएका राय सुझावलाई समेटेर केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्ने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आश्वासन दिएका थिए । तर विशेष महाधिवेशनमा जाने विषय नेतृत्व अलमलमा देखिएपछि आइतबारबाट सुरु हुने केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति टुङ्गो लगाउनुपर्नेमा नेताहरू पुगेका छन् ।बैठकमा पेस हुने एजेन्डा तय गर्नका लागि आजदेखि तीन दिनसम्म अध्यक्ष प्रचण्डले स्थायी समिति बैठक बोलाइएका छन् । विशेष महाधिवेशन गर्ने कि नियमित महाधिवेशन गर्ने भन्नेमा यही बैठकमा छलफल हुन सक्ने सचिव देवेन्द्र पौडेलले बताए ।अघिल्लो केन्द्रीय समिति बैठक हुँदै, पदाधिकारी, स्थायी बैठकमा समेत पटक पटक यो विषय उठेको थियो । अधिकांशले विशेष महाधिवेशन बोलाउनुपर्नेमा सुझाव दिएका थिए । अध्यक्षले प्रतिवेदन तयार भएको भन्नुभएको छ ।

 

विशेष महाधिवेशन बोलाउने निर्णय गत वर्ष साउनमा बसेको केन्द्रीय समिति बैठकले नै निर्णय गरेकाले यो बैठकमा एजेन्डाकै रूपमा प्रचण्डले प्रस्ताव ल्याउन सक्ने पौडेलको भनाइ छ ।यसअघि परामर्श समिति बैठकमा प्रदेशका अध्यक्षहरूले पनि विशेष महाधिवेशनमा गएर आन्तरिक विवाद हल गर्न सुझाव दिएका थिए ।प्रज्ञा भवन कमलादीमा २०७८ साल पुस (११–१८) मा सम्पन्न महाधिवेशनले ६ महिनाभित्र विशेष महाधिवेशन बोलाउने निर्णय गरेको थियो । तर महाधिवेशन भएको तीन वर्ष पुरा हुँदा समेत विशेष महाधिवेशन बोलाउन प्रचण्डले आनाकानी गरिरहेका छन् ।त्यतिबेला २०७९ को तीनै तहको निर्वाचन लगत्तै विशेष महाधिवेशन गरी समाजवादी विचार, कार्यक्रम ल्याउने सहमति थियो । महाधिवेशनले पारित गरेको समाजवादी कार्यदिशालाई कार्यान्वयन गर्न चुस्त दुरुस्त सङ्गठन बनाउने निर्णय गरेको थियो ।गत साउनमा प्रज्ञा भवन कमलादीमै बसेको केन्द्रीय समिति बैठकले भदौदेखि मंसिरसम्म पार्टी रूपान्तरण विशेष अभियान सञ्चालन गरी विशेष महाधिवेशनअघि विधान अधिवेशन गर्ने निर्णय गरेको थियो । फागुनको पहिलो साता प्रथम विधान अधिवेशन भए पनि विशेष महाधिवेशन नहुँदा विधान कार्यान्वयनमा आउन सकेको छैन ।

 

पार्टी उपमहासचिव जनार्दन शर्माले पार्टीभित्र देखिएका समस्या, निर्माण र नेतृत्वको विकल्पबारे १४ बुँदे फरक प्रस्ताव नै पेस गरेका थिए । साउन २५ देखि ३१ सम्म केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकमा शर्माले फरक प्रस्ताव पेस गरेपछि माओवादीभित्र ठुलै तरङ्ग ल्यायो । यद्यपि आफूले नेतृत्वको विकल्प वा पार्टीलाई कमजोर बनाउन नभई पार्टीलाई विधि, पद्धतिबाट थप बलियो बनाउन प्रस्ताव ल्याएको उनले दाबी गरेका छन् ।आफूले राखेको प्रस्तावलाई समेत सम्बोधन गर्नेगरी प्रचण्डले प्रतिवेदन ल्याउनेमा शर्माले विश्वास लिएका छन् ।माओवादीको अघिल्ला पदाधिकारी र स्थायी समिति बैठकमा पनि अधिकांश नेताले विशेष महाधिवेशनमा जानुपर्ने मत राखेका थिए । विधान अधिवेशनबाट तयार भएको विधान लागु गर्नसमेत विशेष महाधिवेशन गर्नुपर्ने दबाबमा प्रचण्ड छन् ।२०८३ पुसभित्र नवौँ महाधिवेशन गर्नुपर्ने संवैधानिक व्यवस्था भएकाले नियमित महाधिवेशन बोलाउन सक्ने केही नेताहरूले बताएका छन् ।