नबिल बैंकको गम्भीर लापरबाही: चिनियाँ कम्पनीको ठगीले बैंक डुबाउदै!
नेपालमा एउटा लोकप्रिय भनाइ छ, "मेड इन चाइना: आज छन्, भोलि छैन।" यो भनाइ अब बैंकिङ्ग प्रणालीमा पनि चरितार्थ हुन थालेको छ। बैंक ग्यारेन्टी त छ, तर भुक्तानी छैन। नबिल बैंकले चिनियाँ कम्पनी र चिनियाँ बैंकप्रति गरेको अन्धविश्वासकै कारण यो अवस्था सिर्जना भएको हो। जनताको पैसा र निक्षेप रहेको नबिल बैंकको लगानी जोखिममा परेको छ। यो थाहा हुँदाहुँदै पनि नबिल बैंकले लापरबाहीपूर्ण तरिकाले चिनियाँ कम्पनी र बैंकलाई विश्वास गर्नु व्यवस्थापकीय अक्षमताको उदाहरण बनेको छ। यो त एउटा देखिएको घटना मात्र हो, यस्ता लगानी कति होलान् कति?
त्रिशूली जलविद्युत् आयोजनामा चिनियाँ ठगीको उदाहरण
त्रिशूली थ्री–बी जलविद्युत् आयोजनाका लागि चिनियाँ कम्पनी सुइफा एएनएचई ग्रुपले ३ वर्षमा आयोजना सम्पन्न गर्ने वाचा गरेको थियो। तर, निर्माण अवधिको अन्त्यसम्म केवल ६६% प्रगति देखाइयो। जब त्रिशूली जलविद्युत् कम्पनीले ठेक्का तोडेर बैंक ग्यारेन्टी जफत गर्ने निर्णय गर्यो, चिनियाँ चाइना एभरब्राइट बैंकले काउन्टर ग्यारेन्टी बापतको रकम भुक्तानी दिन अस्वीकार गर्यो।
नबिल बैंकले बैंक ग्यारेन्टीमार्फत झण्डै एक अर्ब रुपैयाँ भुक्तानी गरिसकेको छ। तर, चाइना एभरब्राइट बैंकले भुक्तानी नदिँदा यो रकमलाई नबिल बैंकले कर्जा नोक्सानी व्यवस्थापनमा राख्नु परेको छ। अहिले मुद्दा चिनियाँ अदालतमा झुन्डिएको छ, जहाँ नबिल बैंकलाई आर्थिक र व्यवस्थापकीय रूपमा समस्या झेल्नुपरेको छ।
चिनियाँ बैंक र कम्पनीहरूप्रति विश्वासको जोखिम
यो पहिलोपटक होइन, जहाँ चिनियाँ बैंक र कम्पनीहरूले समस्या खडा गरेका छन्। यसअघि मेलम्ची खानेपानी आयोजनामा पनि चिनियाँ कम्पनी र बैंकले यस्तै बदमासी गरेका थिए। मेलम्ची आयोजनाको काउन्टर ग्यारेन्टी भुक्तानीका लागि नेपाली बैंकहरूले दशक लामो कानुनी लडाइँ खेप्नुपरेको थियो।
चिनियाँ बैंक र कम्पनीहरूप्रतिको विश्वास बारम्बार असफल हुँदै गर्दा पनि नेपालका बैंकहरू अझै सचेत देखिएका छैनन्। चिनियाँ कम्पनीहरूले सम्झौता तोड्ने, काम नगर्ने, र अदालतमा झुन्ड्याएर समय बिताउने पुरानै रणनीति अपनाइरहेका छन्।
नबिल बैंकको भूमिकामाथि प्रश्नचिह्न
नबिल बैंकले यो घटनामा देखाएको लापरवाही व्यवस्थापकीय कमजोरीको प्रमुख उदाहरण हो। चिनियाँ बैंकको अघिल्लो विवादहरूको इतिहासलाई ध्यान नदिई उनीहरूसँग ठूलो लगानी गर्नु अकर्मण्यता मात्र होइन, जनताको लगानीप्रति धोखा हो। बैंकले ठूला निर्णय लिनुअघि उचित जोखिम मूल्यांकन नगर्नु र समस्यामा परेपछि मात्र ध्यान दिनु गम्भीर त्रुटि हो।
चिनियाँ कम्पनी र बैंकप्रतिको गम्भीर चेतावनी
चिनियाँ निर्माण कम्पनी र बैंकहरूप्रति बारम्बारको यस्ता घटनाहरूले नेपालको बैंकिङ प्रणालीलाई गम्भीर जोखिममा पारेका छन्। यी कम्पनी र बैंकहरूले सम्झौता कार्यान्वयनमा देखाएको लापरवाही र अनैतिक व्यवहारलाई पुनः विश्वास गर्नु नेपालको आर्थिक सुरक्षामाथि ठूलो चुनौती हो।
नेपालका बैंकहरूले अबदेखि चिनियाँ बैंक र कम्पनीहरूसँगको सम्झौतामा कडाइ अपनाउनुपर्छ। यस्ता घटना जनताको विश्वास गुमाउने मात्र होइन, देशको आर्थिक प्रणालीमा दीर्घकालीन असर पार्न सक्छ।
हेर्नुहोस यो पनि:
चीनले काठमाडौँमा काम गर्यो, तर नुवाकोटलाई किन बिर्सियो? पुनर्निर्माणको गम्भीर प्रश्न!
चिनियाँ हस्तक्षेपका कारण स्थानीय विकास अवरुद्ध ! रसुवा कहिलेसम्म प्रतिक्षामा? (भिडियो सहित)