खेल

टी–२० विश्वकप छनोटमा टस जित्दै नेपाल फिल्डिङमा-जापानसँग समूह विजेताको निर्णायक भिडन्त!

टी–२० विश्वकप छनोटमा टस जित्दै नेपाल फिल्डिङमा-जापानसँग समूह विजेताको निर्णायक भिडन्त!

आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोट अन्तर्गत नेपाल र जापानबीचको समूह ‘बी’ को निर्णायक खेल ओमानको अल अमेरातस्थित ओमान क्रिकेट एकेडेमीमा सुरु हुन लागेको छ। नेपालका कप्तान रोहितकुमार पौडेलले टस जित्दै पहिले फिल्डिङ गर्ने निर्णय गरेका छन्।

दुवै टोलीले एक खेल अगावै सुपर सिक्समा स्थान पक्का गरिसकेका छन्। नेपालले कुवेतलाई ५८ रनले पराजित गर्दै उत्कृष्ट प्रदर्शन गरेको थियो भने जापानले सोही टोलीलाई पाँच विकेटले हराउँदै सुपर सिक्समा प्रवेश गरेको हो। समूहको अन्तिम खेलले समूह विजेता निर्धारण गर्नेछ, जसले सुपर सिक्स चरणमा अतिरिक्त दुई अङ्कसहित बलियो स्थिति दिलाउनेछ।

यो छनोट प्रतियोगितामा एसिया र पूर्वी एसिया–प्यासिफिक क्षेत्रका नौ टोली प्रतिस्पर्धामा छन्। सहभागी टोलीहरूलाई तीन समूहमा बाँडिएको छ—समूह ‘ए’ मा संयुक्त अरब इमिरेट्स (यूएई), मलेसिया र कतार; समूह ‘बी’ मा नेपाल, जापान र कुवेत; र समूह ‘सी’ मा ओमान, पपुवा न्युगिनी र सामोआ रहेका छन्।

सिङ्गल राउन्ड रोबिन प्रणालीमा भइरहेको यस प्रतियोगितामा प्रत्येक समूहका शीर्ष दुई टोली सुपर सिक्समा पुग्नेछन्। सुपर सिक्सबाट शीर्ष तीन टोलीले आगामी वर्ष भारत र श्रीलङ्काले संयुक्त रूपमा आयोजना गर्ने आइसिसी टी–२० विश्वकपमा स्थान पाउनेछन्।

नेपालका लागि आजको खेल केवल सम्मानका लागि मात्र होइन, आगामी चरणमा प्रतिस्पर्धात्मक लाभको अवसर पनि हो। बलियो फिल्डिङ र अनुशासित बलिङका साथ टिमले जापानविरुद्ध निरन्तर प्रदर्शन दोहोर्याउन सके, विश्वकप नजिकिने आशा थप प्रबल हुने देखिन्छ।