अमेरिकासँग नेपालको लज्जास्पद हार, लिग–२ को शीर्षस्थानमा अमेरिका
काठमाडौं — आइसिसी विश्वकप लिग–२ अन्तर्गत युएईमा जारी त्रिकोणात्मक सिरिजमा नेपालले अमेरिकासँग १ सय ६ रनको लज्जास्पद हार बेहोरेको छ। यस जितसँगै अमेरिका लिग–२ अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
युएईस्थित दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले अमेरिकालाई ५० ओभरमा ६ विकेटको क्षतिमा २ सय ६२ रनमा रोक्यो। तर जवाफी ब्याटिङमा नेपाल मात्र ३१.१ ओभरमै १ सय ५६ रनमा समेटियो।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४० रन बनाए भने आशिफ शेखले ३७, भीम सार्कीले २९ र आरिफ शेखले २० रनको योगदान दिए।
अमेरिकाको तर्फबाट ओपनर स्मित पटेलले उत्कृष्ट प्रदर्शन गर्दै ९ चौकाको मद्दतमा १ सय बलमा ७५ रन बनाए। उनले रनआउट भएर पवेलियन फर्किए। त्यस्तै, मिलिन्ड कुमार अविजित रहँदै ७० रन बनाए भने साइतेजा मुक्कमल्लाले ४२ रन थपे।
नेपालका लागि सन्दीप लामिछानेले २ विकेट लिए। सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र आरिफ शेखले समान एक–एक विकेट झारे।
अब नेपालले लिग–२ सिरिजको दोस्रो खेल यूएईविरुद्ध खेल्नेछ। शनिबार पुनः अमेरिकासँग र आगामी बुधबार यूएईसँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ।