प्रहरीलाई गोली हान्ने आदेश हाम्रो होइन-पूर्वगृहमन्त्री रमेश लेखकको स्पष्टोक्ति!
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकले जेन–जी आन्दोलनका क्रममा प्रहरीलाई गोली चलाउने आदेश आफू वा तत्कालीन प्रधानमन्त्रीबाट नआएको स्पष्ट पार्नुभएको छ। शुक्रबार संक्षिप्त रूपमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लेखकले आन्दोलनका घटनाहरू दुःखद रहेको भन्दै, “प्रहरीलाई गोली हान्ने आदेश हाम्रो थिएन, र त्यस विषयमा कुनै निर्देशन दिइएको पनि होइन,” भनेर स्पष्ट गर्नुभयो।
उनका अनुसार, भदौ २३ र २४ गतेको आन्दोलनका बेला आफूले नैतिक कारणले २३ गतेकै दिन गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। लेखकले भने, “जेन–जी आन्दोलनका मागहरू जायज थिए र नेतृत्वले पनि त्यसलाई शान्तिपूर्ण रूपमा अघि बढाउने प्रतिवद्धता जनाएको थियो। तर आन्दोलनमा केही बाह्य घुसपैठ भएको कुरा जेन–जी नेतृत्वले नै बताएको छ, त्यसैले म यसबारे थप केही भन्न चाहन्न।”
लेखकले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरे। उहाँले आफ्नो आमाको निधनपछि लामो मौनता तोड्दै पहिलोपटक धारणा सार्वजनिक गर्दै आन्दोलनका पीडित परिवारहरूमा समवेदना प्रकट गर्नुभएको हो।
वर्तमान राजनीतिक परिस्थितिबारे बोल्दै लेखकले नेपाली कांग्रेसले नियमित बैठकमार्फत आन्तरिक छलफल जारी राखेको र हालको अस्थिर अवस्थाबाट मुलुकलाई निकाल्नका लागि सबै राजनीतिक दलबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँका अनुसार, “लोकतान्त्रिक प्रणाली र संविधानको रक्षा सबैको साझा जिम्मेवारी हो, जसका लागि दलहरूबीच बृहत्तर संवाद र एकता अपरिहार्य बनेको छ।”
लेखकले जेन–जी पुस्ताका मागहरूलाई लोकतान्त्रिक मूल्य र मान्यताको आधारमा सम्बोधन गर्न सरकार र दलहरू दुवैले जिम्मेवारीपूर्वक संवादको वातावरण बनाउनुपर्ने सुझाव दिनुभयो। उहाँले थपे, “संकटका बेला प्रतिशोध होइन, समाधानको खोज हुनुपर्छ। संविधान र कानुनी शासनको बाटोमै निकास सम्भव छ।”
देश गम्भीर संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको भन्दै लेखकले संयमता र जिम्मेवारीपूर्वक कदम चाल्न सरकारलाई आग्रह गर्नुभयो। उहाँका अनुसार, शान्ति, न्याय र लोकतन्त्रको पुनर्स्थापनाका लागि राज्य र राजनीतिक नेतृत्वले सहमतिको बाटो रोज्न सके मात्र देशले स्थायित्व पाउनेछ।