नेपाली स्टार्टअप डी एल सर्फ सिलिकन भ्यालीमा-विश्वका १०० देशसँग एक मिलियन डलरको प्रतिस्पर्धा

स्टार्टअप वर्ल्ड कप २०२५ को विश्व प्रतिस्पर्धामा सहभागी हुन नेपालका विजेता स्टार्टअप ‘डी एल सर्फ’का संस्थापक अर्जुन घिमिरे अमेरिकाको सिलिकन भ्याली प्रस्थान गरेका छन्। ‘नेपाली स्टार्टअपको बिलियन डलर सपना साकार गर्ने यात्रा’ भन्ने नारासहित उनीले अक्टोबर १७ देखि २२ सम्म सान फ्रान्सिस्कोमा हुने ग्लोबल फिनालेमा नेपालको प्रतिनिधित्व गर्नेछन्।
स्टार्टअप हब नेपाल र वर्ल्ड ट्रेड ग्रुपद्वारा आयोजित स्टार्टअप वर्ल्ड कप–नेपाल संस्करणका विजेता डी एल सर्फले अब विश्वका १०० भन्दा बढी देशका विजेता स्टार्टअपहरूसँग प्रतिस्पर्धा गर्नेछ। ग्लोबल फिनालेमा विजेता टोलीले एक मिलियन अमेरिकी डलर (करिब १४ करोड ४० लाख रुपैयाँ) को पुरस्कार प्राप्त गर्नेछ।
घिमिरेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गर्दै स्टार्टअप हब नेपालका अध्यक्ष डा. शम्भु पोखरेलले भने, “यो केवल प्रतियोगिता होइन—नेपाली नवप्रवर्तनलाई विश्व मञ्चमा चिनाउने ग्लोबल लञ्चप्याड हो।” उनले थपे, “स्टार्टअप वर्ल्ड कपले नेपाली उद्यमीहरूलाई अन्तर्राष्ट्रिय लगानीकर्ता, सल्लाहकार र उद्यमशील व्यक्तिहरूसँग प्रत्यक्ष सम्पर्कमा ल्याउँदै नेपालको स्टार्टअप इकोसिस्टमलाई सुदृढ बनाउने विश्वास लिएको छ।”
स्टार्टअप हब नेपालका अनुसार, यो पाँचौँ पटक हो जब नेपाली स्टार्टअप सिलिकन भ्यालीमा विश्वस्तरीय प्रतिस्पर्धामा सहभागी हुन पुगेको छ। आयोजकहरूको भनाइमा, यस्तो सहभागिताले नेपाली नवउद्यमहरूलाई विश्व बजारमा प्रवेश गर्न, लगानी आकर्षित गर्न र दीर्घकालीन व्यवसायिक सम्भावना विकास गर्न सहयोग पुर्याउनेछ।
स्टार्टअप वर्ल्ड कपको स्थापना अमेरिकी कम्पनी पिगासस टेक भेन्चर्स ले गरेको हो, जुन एलन मस्कको कम्पनी स्पेसएक्स सँग सम्बन्धित फण्डरेजिङ प्लेटफर्म हो। विश्वकै सबैभन्दा ठूलो स्टार्टअप प्रतियोगितामध्ये एक मानिने यस कार्यक्रमले उद्यमीहरूलाई ग्लोबल एक्सपोजर, लगानी र नेटवर्किङका अवसर प्रदान गर्छ।
वर्ल्ड ट्रेड ग्रुप नेपालका अनुसार, नेपालबाट डी एल सर्फको सहभागिताले देशको स्टार्टअप समुदायमा नयाँ आत्मविश्वास र आशा जगाउनेछ। आयोजकहरूले अपेक्षा गरेका छन्—यदि डी एल सर्फले फिनालेमा उत्कृष्ट प्रदर्शन गर्न सफल भयो भने, नेपालले विश्व बजारमा आफ्नो पहिलो युनिकर्न कम्पनी जन्माउने ऐतिहासिक सम्भावना हासिल गर्न सक्छ।