कांग्रेसभित्र नेतृत्व रूपान्तरणको बहस तीव्र!
नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा बिहीबार सुरु भएको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा पार्टीको १५औँ महाधिवेशनलाई केन्द्रमा राखेर विस्तृत छलफल भएको छ। बैठकमा नियमित मङ्सिर महाधिवेशन गर्ने वा विशेष महाधिवेशनमार्फत नेतृत्व र साङ्गठनिक रूपान्तरणमा जाने भन्ने विषयमा नेताहरूबीच मतभिन्नता देखिएको छ।
बैठकमा देशको समसामयिक राजनीतिक परिस्थिति, सरकारले घोषणा गरेको आगामी फागुन २१ गतेको निर्वाचन र भदौ २३–२४ गतेको आन्दोलनपछि उत्पन्न राजनीतिक स्थितिबारे पनि समीक्षा गरिएको कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले जानकारी दिएका छन्। उनका अनुसार केही नेताहरूले पार्टीले अब संरचनात्मक रूपान्तरणमा केन्द्रित हुनुपर्ने धारणा राखे भने अरूले समयमै नियमित महाधिवेशन सम्पन्न गरेर नेतृत्वलाई नयाँ जनादेश दिलाउनुपर्ने आवश्यकता औंल्याएका थिए।
महतका अनुसार बैठकमा गठित उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगले भदौको आन्दोलनसँग सम्बन्धित सम्पूर्ण घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने, निर्वाचनको तयारीमा सरकारले प्रमुख राजनीतिक दलहरूसँग संवाद गर्नुपर्ने र गृह मन्त्रालयले फौजदारी अभियोग लागेका व्यक्तिमाथि कानुनी कारबाही अघि बढाउनुपर्ने विषयमा समेत छलफल भएको छ।
कांग्रेसले असोज २६ गतेका लागि तोकेको केन्द्रीय कार्यसमिति बैठकका एजेन्डाबारे पनि प्रारम्भिक बहस भएको उनले बताए। उनले जोड दिए, “नेतृत्वले व्यावहारिक र यथार्थपरक निर्णय लिने दिशातर्फ छलफल केन्द्रित भइरहेको छ।”
बैठकमा उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा संस्थापन र इतरपक्षका नेताहरूबीच दुई धार प्रस्ट देखिएका छन्। संस्थापन पक्षले फागुनको आमनिर्वाचनपछि नियमित महाधिवेशन गर्नुपर्ने अडान राखेको छ भने इतरपक्षका नेताहरूले मङ्सिरमै महाधिवेशन गर्नुपर्ने वा विशेष महाधिवेशनको बाटो लिनुपर्ने प्रस्ताव अघि सारेका छन्।
बैठकमा सहभागी एक नेताका अनुसार, “पार्टीभित्र जेन–जेड आन्दोलनपछिको नयाँ सोच र अपेक्षालाई आत्मसात् गर्ने माग बलियो बन्दै गएको छ। त्यसैले समयमै निर्णायक रूपान्तरण जरुरी देखिन्छ।”
नेताहरूको वक्तव्य क्रम बिहीबारभर जारी रहेकाले बैठक शुक्रबार पनि निरन्तरता पाउने भएको छ। राजनीतिक पुनःसंरचना र आन्तरिक रूपान्तरणको यो बहस नेपाली कांग्रेसको आगामी दिशा र नेतृत्व चयनको आधार बन्ने अपेक्षा गरिएको छ।