मन्त्री कुलमान घिसिङले इलामको बाढी–पहिरो क्षेत्र निरीक्षण गर्दै राहत र पुनःनिर्माणमा प्राथमिकता दिने घोषणा गरे!

भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङ शनिबार इलामका बाढी–पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा पुगेका छन्। हालैको वर्षात्को कारण ठूलो जनधन क्षति भएको इलाम नगरपालिका–१० को माइखोला टापु, मेची राजमार्गको राजदुवाली खण्ड र नेपालटार सडकको मिलगोलाई क्षेत्रमा उनले प्रत्यक्षरूपमा अवस्थाको मूल्यांकन गरे।
मन्त्री घिसिङसँग गृहसचिव रामेश्वर दंगाल, भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशव शर्मा, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख दिनेश भट्ट र नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङको टोली पनि सहभागी थियो। टोलीले बाढी र पहिरोले क्षतिग्रस्त सडक, घर, पुल र अन्य संरचनाहरूको निरीक्षण गर्दै स्थानीय जनप्रतिनिधि तथा प्रभावितहरूसँग छलफल गरेको थियो।
माइखोला टापुमा विस्थापित परिवारसँग भेट्दा पीडितहरूले तत्काल राहत र दीर्घकालीन पुनःस्थापना योजनामा सरकारको ध्यानाकर्षण गराएका थिए। बाढीले घर र सम्पत्ति बगाएका स्थानीय डुक्पा विश्वकर्माले भने, “अब अस्थायी टहरा होइन, स्थायी बसोबासको व्यवस्था चाहिन्छ।”
मन्त्री घिसिङले तत्कालका लागि मेची राजमार्ग आइतबारसम्म सञ्चालनमा ल्याउने प्रयास भइरहेको र दीर्घकालीन समाधानका लागि वैकल्पिक मार्ग र संरचनात्मक सुधारका योजना तयार पारिने बताए। उनका अनुसार, “भौतिक पूर्वाधार पुनःनिर्माणसँगै पुनःस्थापना र विपद् पूर्वतयारीका कार्यक्रमहरूलाई इलाम जिल्लामा प्राथमिकतामा राखिनेछ।”
जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकमा प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले हालसम्मको क्षतिको विवरण प्रस्तुत गर्दै ३८ परिवार पूर्ण रूपमा विस्थापित भएको जानकारी दिइन्। नेपाली सेनाको सहयोगमा अस्थायी टहरा बनाएर उनीहरूलाई सुरक्षित स्थानमा राखिएको छ।
त्यसअघि मन्त्री घिसिङले रोङ गाउँपालिका र सूर्योदय नगरपालिकामा गएर त्यहाँका क्षति र उद्धार अवस्थाबारे पनि जानकारी लिएका थिए।
वर्षा रोकिए पनि पहिरोको जोखिम कायम रहेकाले स्थानीय प्रशासनले उच्च सतर्कता अपनाएको जनाएको छ। राजमार्ग खुलेपछि पनि स्थायी पुनःनिर्माण र दीर्घकालीन भू–जोखिम व्यवस्थापन सरकारका लागि प्रमुख चुनौती बन्ने देखिएको छ।