समाचार

सशस्त्र प्रहरी नायब महानिरीक्षक तथा प्रवक्ता कालिदास धौजको अवकाशपश्चात् बिदाइ समारोह सम्पन्न

सशस्त्र प्रहरी नायब महानिरीक्षक तथा प्रवक्ता कालिदास धौजको अवकाशपश्चात् बिदाइ समारोह सम्पन्न

सशस्त्र प्रहरी बल, नेपालका केन्द्रीय प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) कालिदास धौजको अवकाशसँगै बुधबार उनको बिदाइ कार्यक्रम सम्पन्न भएको छ।

सशस्त्र प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा गृहसचिव रामेश्वर दंगालले धौजलाई बिदाइ गर्दै उनको ३० वर्षे सेवायात्रालाई “समर्पण र अनुशासनको उदाहरण” भनेर वर्णन गरे। उनले भने, “उहाँले संगठनलाई नयाँ सोच र प्रतिबद्धतासहित अघि बढाउन योगदान गर्नुभयो। अवकाशपछिको जीवन सुखमय र प्रेरणादायी रहोस् भन्ने कामना गर्दछु।”

सोही अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले पनि धौजको दीर्घ सेवाप्रति कृतज्ञता व्यक्त गर्दै संगठनमा उनले निभाएको भूमिकाको प्रशंसा गरे। उनका अनुसार, “डीआईजी धौजको नेतृत्व र कार्यशैलीले संगठनलाई थप जिम्मेवार र पारदर्शी बनाउन सहयोग पु¥याएको छ।”

धौज २०५२ साल असोज २५ गते नेपाल प्रहरीमा सेवा प्रवेश गरी पछि सशस्त्र प्रहरी बलमा स्थानान्तरण भएका थिए। सशस्त्र प्रहरीमा रहँदा उनले विविध जिम्मेवारी वहन गर्दै २०८१ साल बैशाख २४ गतेदेखि केन्द्रीय प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए।

उनी अनिवार्य अवकाश उमेर पुगेका कारण सेवामुक्त भएका हुन्। बिदाइ कार्यक्रममा गृहसचिव दंगाल, महानिरीक्षक अर्याल, अतिरिक्त महानिरीक्षकहरू र प्रधान कार्यालयका अन्य उच्च अधिकारीहरूको उपस्थितिमा उनको योगदान र अनुभवलाई स्मरण गरिएको थियो।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले धौजको नेतृत्वमा सशस्त्र प्रहरी बलले संस्थागत अनुशासन, जनविश्वास र सञ्चार पारदर्शिताको अभ्यासमा उल्लेखनीय प्रगति गरेको उल्लेख गरेका थिए।

तीन दशक लामो सेवाजीवनपछि धौजले अवकाश ग्रहण गर्दा संस्थाभित्र नयाँ पुस्ताका अधिकृतहरूलाई जिम्मेवारी र निष्ठाको भावनाले कार्य गर्न प्रेरणा दिने अपेक्षा गरिएको छ।