प्रधानमन्त्री कार्कीका नाममा नक्कली फेसबुक पेज — ओलीको ‘मृत्यु घोषणा’सम्म फैलियो भ्रम!

काठमाडौं — प्रधानमन्त्री सुशीला कार्कीका नाममा नक्कली फेसबुक पेज सञ्चालनमा आएको पत्ता लागेको छ। प्रधानमन्त्रीको आधिकारिक फोटो र राष्ट्रिय निशानाको संयोजन प्रयोग गरी “PM Sushila Karki” नामक पेज गत सेप्टेम्बर १३ तारिखदेखि सक्रिय भएको हो।
उक्त पेजमा हालसम्म करिब ४ हजार ९३२ जना फलोअर बनेका छन्। पेजमा विभिन्न राजनीतिक दल र नेताहरूमाथि आपत्तिजनक टिप्पणी, फोटो र भिडियोहरू पोष्ट गरिएका छन्। अझ चकित पार्ने कुरा — सोही पेजमार्फत पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको मृत्यु घोषणासमेत गरिएको छ, जसले सामाजिक सञ्जालमा ठूलो भ्रम र आक्रोश फैलाएको छ।
तर, प्रधानमन्त्री कार्यालयले हालसम्म यसबारे कुनै औपचारिक प्रतिक्रिया दिएको छैन। विज्ञहरूले भनेका छन् — “प्रधानमन्त्रीको नाममा चलाइएका यस्ता नक्कली पेजहरूले जनमानसमा भ्रम फैलाउँदै सरकार र प्रशासनप्रतिको विश्वास कमजोर पार्ने काम गरिरहेका छन्।”
सो पेजका कमेन्टहरू हेर्दा समेत भ्रामक पोस्टले सर्वसाधारणमा गम्भीर असर पारिरहेको स्पष्ट देखिन्छ। साइबर अपराध शाखाले भने विषयमा प्रारम्भिक जानकारी संकलन सुरु गरेको जनाएको छ।