टी–२० विश्वकप छनोटमा नेपाल १ रनले विजयी, युएईविरुद्ध रोमाञ्चक जीतसँगै चार अंकमा

नेपालले आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोट प्रतियोगितामा संयुक्त अरब इमिरेट्स (युएई)लाई एक रनले हराउँदै सुपर सिक्स चरणको पहिलो खेलमा रोमाञ्चक जित हात पारेको छ। ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी मैदानमा आइतबार सम्पन्न खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ६ विकेटको क्षतिमा १४० रन बनाएको थियो, जसलाई युएईले पछ्याउने क्रममा २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रनमै रोकियो।
नेपालका लागि ओपनर आशिफ शेखले ५१ रनको अर्धशतकीय इनिङ्स खेले। उनले ४७ बलमा चार चौका र एक छक्काको सहयोगमा पारी तयार पारेका थिए। कुशल भुर्तेलले २८ रन, कप्तान रोहित पौडेलले २०, गुलशन झाले १४ र कुशल मल्लले १० रन जोडे। अन्य ब्याटरहरू दोहोरो अंक पार गर्न सकेनन्।
बलिङतर्फ युएईका जुनेद सिद्दिकी, मुहम्मद रोहिद, जाहिद अली, ध्रुव पराशर, हर्षित कौशिक र हेदर अलीले समान एक–एक विकेट लिए।
लक्ष्य पछ्याउने क्रममा युएईका अलिशान सरफुले ५८ रनको उत्कृष्ट अर्धशतक बनाए। उनले ४० बलमा तीन चौका र पाँच छक्का प्रहार गरे। ध्रुव पराशरले ३२, जोनाथन फिगीले १९ र जाहिद अलीले ११ रन जोडे। तर अन्तिम ओभरसम्म पुगेको खेलमा युएई एक रनले पराजित भयो।
नेपालका बलर दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए भने सोमपाल कामी, सन्दीप लामिछाने र गुलशन झाले एक–एक विकेट हात पारे। ऐरीले निर्णायक क्षणमा विकेट निकालेपछि नेपालले जीत सुनिश्चित गर्न सफल भयो। उत्कृष्ट प्रदर्शनका लागि उनलाई प्लेयर अफ द म्याच घोषित गरिएको छ।
यो जितसँगै नेपालले सुपर सिक्स चरणमा चार अंक हासिल गर्दै विश्वकप छनोटको सम्भावना बलियो बनाएको छ। ओमानसँग नेपाल बराबर चार अंकमा उभिएको छ भने युएई दुई अंकमा सीमित छ। कतार, जापान र सामोआ अझै अंकविहीन छन्।
नेपालले यसअघि समूह चरणमा कुवेत र जापानलाई पराजित गर्दै समूह ‘बी’ को विजेताका रूपमा सुपर सिक्समा प्रवेश गरेको थियो, जबकि युएईले समूह ‘ए’ मा कतार र मलेसियामाथि जित निकालेको थियो।
अब नेपालले दोस्रो खेल सोमबार कतारसँग, तेस्रो खेल बुधबार ओमानसँग र अन्तिम खेल शुक्रबार सामोआसँग खेल्नेछ। सुपर सिक्सका शीर्ष तीन टोलीले आगामी वर्ष भारत र श्रीलङ्काले संयुक्त रूपमा आयोजना गर्ने टी–२० विश्वकपमा स्थान पाउने छन्।
ओमानको मैदानमा भएको यो जितले नेपाललाई न केवल विश्वकप नजिक पुर्याएको छ, तर पछिल्ला वर्षहरूमा उदीयमान टोलीको रूपमा अन्तर्राष्ट्रिय क्रिकेटमा आफूलाई पुनः स्थापित गर्न पनि बलियो सन्देश दिएको छ।