समाचार

जनमत पार्टीका उपाध्यक्ष दीपक साहसहित १५ नेता अलग, निर्वाचन आयोगमा ‘राजस्व पार्टी’ दर्ता प्रक्रिया सुरु

जनमत पार्टीका उपाध्यक्ष दीपक साहसहित १५ नेता अलग, निर्वाचन आयोगमा ‘राजस्व पार्टी’ दर्ता प्रक्रिया सुरु

जनमत पार्टीबाट अलग भएका नेताहरूले नयाँ राजनीतिक दल दर्ताको प्रक्रिया सुरु गरेका छन्। पूर्वउपाध्यक्ष दीपक साहको नेतृत्वमा “राजस्व पार्टी” दर्ताका लागि आइतबार निर्वाचन आयोगमा औपचारिक निवेदन दर्ता गरिएको छ।

साह नेकपा जनमत पार्टीका उपाध्यक्ष थिए। उनले नेतृत्व गरेको नयाँ दलमा जनमत पार्टीका १५ जना कार्यकारिणी सदस्य सामेल भएका छन्। एक नेताका अनुसार, “५२ सदस्यीय कार्यकारिणीबाट १५ जना अलग भएर नयाँ दल दर्ता प्रक्रिया अघि बढाइएको हो। निवेदन दिएका छौँ, अब बाँकी औपचारिक प्रक्रिया आयोगमा चलिरहेको छ।”

राजस्व पार्टीमा ई. सुरेन्द्र नारायण यादव, हेमलता रजक, शम्भुनाथ साहलगायत नेताहरू सहभागी छन्। यीमध्ये धेरैजसो जनमत अध्यक्ष डा. सिके राउतद्वारा अनुशासनहीनता र आन्तरिक असहमतिका कारण निलम्बन वा बर्खास्त गरिएका थिए।

पार्टीभित्र पछिल्ला महिनामा निरन्तर विवाद र निर्णय प्रक्रियाप्रति असन्तुष्ट नेताहरूले नयाँ दल गठनलाई “राजनीतिक विकल्प खोज्ने कदम” का रूपमा व्याख्या गरेका छन्।

सिके राउत नेतृत्वको जनमत पार्टी २०७६ सालमा स्थापनापछि मधेस–केन्द्रित राजनीतिक प्लेटफर्मको रूपमा उदाएको थियो। तर, पछिल्ला वर्षहरूमा आन्तरिक असन्तोष, संगठन विस्तारमा कमजोरी र नीति–निर्णयमा असम्झदारीले दलभित्र विभाजन गहिरिँदै गएको देखिएको छ।

अब निर्वाचन आयोगको निर्णयपछि राजस्व पार्टीको औपचारिक दर्ता टुंगो लाग्नेछ। नयाँ दलले मधेसमा वैकल्पिक राजनीतिक धारका रूपमा आफूलाई प्रस्तुत गर्ने तयारी गरिरहेको स्रोतहरूले बताएका छन्।